इतिहासकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । नेपाली सेयर बजारको हालसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ ।

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ विक्री खुला गरेको हो ।

 

यो इतिहासकै सबैभन्दा ठूलो आइपीओ हो । यसअघि गत वर्ष नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा ठूलो १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

 

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।बैंकको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

 

कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी(आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा साढे १२ लाखले आवेदन दिँदै आएका छन् । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि  ह्वात्तै बढेको छ । यसआधारमा करिब १५ लाख जनाले आइपीओ भर्ने आँकलन गरिएको छ ।

 

त्यस अनुसार बैंकको आइपीओ सबैलाई समानुपातिक रुपमा बाँड्दा ५० कित्ता पाउने सम्भावना देखिन्छ । तर, सबै आवेदकले ५० कित्ताका लागि आवेदन नगर्न पनि सक्छन् । त्यसैले बैंकको आइपीओमा न्यूनतम ५० देखि ८० कित्ता अर्थात् ५ हजारदेखि ८ हजार रुपैयाँ बराबरको आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

कम्पनीको वित्तीय अवस्था

 

बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्तापूँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०स्४० प्रतिशत हुनेछ ।

 

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२।४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

 

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७।०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३।६२ रुपैयाँ रहेको छ ।

चन्द्रागिरीको आइपीओ भर्नेले केबलकार टिकटमा १७५ रुपैयाँ छुट पाउने Read Previous

चन्द्रागिरीको आइपीओ भर्नेले केबलकार टिकटमा १७५ रुपैयाँ छुट पाउने

देशकै ठूलो भ्यू टावर बनिरहेको प्रधानमन्त्रीको जिल्लामा फेरि अर्को ११ तले टावर बन्दै Read Next

देशकै ठूलो भ्यू टावर बनिरहेको प्रधानमन्त्रीको जिल्लामा फेरि अर्को ११ तले टावर बन्दै