काठमाडौं । राजविराज विमानस्थल स्तरोन्नतिका लागि ९७ बिघा जमिन अधिग्रहण गर्नु पर्ने भएको छ ।
विमानस्थलको गुरु आयोजना अनुसार स्तरोन्नतिका लागि उक्त जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो । गुरु योजना अनुसार हाल धावनमार्ग, ट्याक्सीवे, एप्रोन ओभरले कार्यका लागि टेण्डर आह्वान भएको छ ।
सो विमानस्थलमा जमिन अधिग्रहण अन्तर्गत केही वस्तीहरु स्थानतरणको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमानस्थर स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थलमा कन्ट्रोल टावर निर्माण गर्नुका साथै हवाइ इन्धन राख्नका लागि स्टेसन समेत बनाइने योजनामा रहेको छ ।
हाल राजविराज विमानस्थलमा १७०० मिटरको रनवे निर्माण गर्नुका साथै टर्मिनल भवनको समेत निर्माण पूरा भइसकेको क्यानका सूचना अधिकारी क्षेत्रीले बताए । सो निर्माण पछि विमानस्थलमा एटीआर–७२, ड्यास ८ लगायतका ठूला विमानहरु सञ्चालन गर्न सकिने छ ।
ठूला आन्तरिक विमानस्थल अन्तर्गत चन्द्रगढी, विराटनगर, नेपालगञ्ज तथा धनगढी विमानस्थलहरुको गुरु आयोजना निर्माण पूरा भएको छ ।
विराटनगर विमानस्थलको विकास तथा विस्तार गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजना रहेको छ । यस विमानस्थल निर्माणका लागि प्रदेश १ सरकारले ४० प्रतिशत , विराटनगर नगरपालिकाले १० प्रतिशत र संघीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गर्ने समझदारी भएको छ ।
यस्तै सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि कर्णाली प्रदेश र संघीय सरकारका तर्फबाट ५०/५० प्रतिशत आर्थिक साझेदारी गर्ने सम्झौता भएको छ ।
यस्तै साना आन्तरिक विमानस्थलहरु स्तरोन्नति गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, साँफेबगर र बैतडी विमानस्थलको धावनमार्ग, एप्रोन तथा ट्याक्सी मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ । सो सम्पन्न पश्चात गत असोज १७ गते उडान परीक्षण गरी विमानस्थल सञ्चालनमा ल्याइसकेको क्यानले जनाएको छ ।
यस्तै लुक्ला र सिमिकोटमा बन्दै गरेको विमानस्थल स्तरोन्नति कार्य अन्तिम चरणमा रहेको छ । सो विमानस्थलहरुमा ठूला हेलिप्याडहर निर्माण कार्य भइरेको छ । साथै रामेछाप विमानस्थलमा तत्काल उडानका लागि केही पूर्वाधार सुधार कार्य गरिएका छन् ।
सो विमानस्थलको सम्भाव्यक्ता अध्ययन गरी गुरु आयोजना बनाई विकास तथा विस्तार गर्ने कार्य अघि बढेको प्रवक्ता क्षेत्रीले बताए । ‘विमानस्थलहरुमा कुनै कसर नछुट्याइ काम गरिरहेका छौँ, केहीको गुरु योजना बन्दै छ, केहीका विस्तार शुरु भइसकेको, केही सञ्चालनमा पनि आइसकेका छन्,’ उनले भने ।