विदेश जाने ७८% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ५ महिनामै भित्रियो ४ खर्ब १६ अर्ब
चाणक्य पोष्ट
प्रकाशित : 5:06 pm, बुधबार, पुस २९, २०७७

काठमाडौं । कोरोना महामारीका बीच पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रुपमा बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको छ ।

 

चालू आर्थिक वर्षको मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेकोे थियो ।

 

कोरोना महामारीका बीच रेमिट्यान्समा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक रहेको अर्थविदहरु बताउँछन् ।विश्वभर कोरोना प्रभाव परे पनि नेपाली कामदार रहेका देशहरुले ठूलो मात्रमा कामदार कटौती नगर्दा रेमिट्यान्स नघटेको उनीहरुको भनाइ छ । यस्तै, हुन्डीमार्फत हुने कारोबार घटेसँगै रेमिट्यान्समा वृद्धि भएको हो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

 

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६९.४ प्रतिशतले घटेको छ । गत आवको मंसिरसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७.६ प्रतिशतले बढेको थियो ।

Advertisement Section