कर्णालीको अदुवा युरोपेली बजारमा, किसानले पाए ७ गुणासम्म बढी भाउ

कर्णाली । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो ५–१० रुपैयाँमा विक्री गर्दै आएका उनीहरुले हाल ३० देखि ७५ रुपैयाँ सम्ममा घरकै मझेरीबाटै अदुवा विक्रीवितरण गर्न पाएका छन् ।

 

यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा विक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको सङ्कलन र विक्रीवितरण गर्ने यो उचित समय पनि हो । अदुवा कृषकले आफ्नो उत्पादनका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले विक्रीवितरण गरिरहेका छन् ।

 

आफ्नो उत्पादनले बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवाखेतीमा बढ्दै गएको छ । यसअघि परम्परागतरुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिकरुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेका छन् ।

 

चौरजहारी नगरपालिका– ९ रुकुमपश्चिम खोलागाउँका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकी भन्छन्, ‘उतिबेला बजार पहुँच नहुँदा उत्पादित अदुवा सामान्यतः बेच्ने र नासोका रुपमा आफ्ना इष्टमित्रलाई दिइन्थ्यो । धेरैले यसको महत्व बुझिसकेका थिएनन् । कति अदुवा त बारीमा नै सडेर जाने गथ्र्यो । अहिले त बारीमै खन्दै गरेको अदुवा किन्न व्यापारी त्यही पुग्छन् ।’

 

बुढाथोकीले थपे, ‘समय धेरै बदलिसकेछ । पहिले अदुवाखेती गर्ने गाउँले हुन्थे । अहिले त यही खेती गर्ने नै शहरिया भएको देख्न पाइएको छ, यही खेतीबाट पक्की घर पनि बनाएका छन् ।’ यो पुस्ताले अलि मेहनत गरेर कृषि पेशालाई माया गर्न सके परदेशी भूमिमा जान नपर्ने उनको भनाइ छ ।

 

मुलुक सङ्घीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सडक पूर्वाधार जोड्ने कामलाई प्रदेश सरकारले जोड दिएको छ । अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम, जाजरकोट राजधानी सुर्खेतसँग जोडिइसकेका छन् । दुई/तीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउँदा अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रालीले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरुलाई सहज भएको हो ।

 

अर्गानिक माउण्टेन फ्ल्याभर, इन्भेष्टर होम र ओएमएक्स विभी मर्ज भएर निर्माण भएको ‘द अर्गानिक भ्याली प्राली’ १ करोड ३ लाख शेयर लगानीमा सञ्चालनमा आएको प्रालीका प्रबन्ध निर्देशक समीर नेवाले जानकारी दिए ।

 

‘शुरुमा प्रालीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी) ले ६२ लाख ८७ हजार लगानी गरेको थियो,’ निर्देशक नेवाले भने, ‘त्यसपश्चात् हामी आफ्नै लगानीमा प्रालीअघि बढाएका छौँ ।’

 

उनका अनुसार प्रालीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । हामीले सुकेको चाना पठाउने काम गर्दैैै आएका छौँ । खासगरी उद्योग सञ्चालनपश्चात् पहिलो पटक आर्थिक वर्ष ०७५/०७६ मा २६ टन अदुवाको चाना पठाउँदा प्रतिकिलो अमेरिकन डलर ४.८५ रुपैयाँ विक्री गर्दा १ लाख ४ हजार आम्दानी गरेको थियो ।

 

उनले अगाडि भने, ‘०७६/०७७ मा ६८ मेट्रिकटन पठाउँदा ३ लाख ८५ हजार अमेरिकी डलर आम्दानी गरेका छौँ । प्रालीले आफ्नो उत्पादन युरोपको विशेषगरी जर्मनीमा पठाउने गर्दछ । युरोपियन देशले चिया, तेल, क्याण्डी फ्ल्याभर्ड, मसलाजन्य वस्तुका रुपमा अदुवा प्रयोग गर्ने गर्दछन् । त्यहाँ यसको माग बढी छ ।’

 

प्रालीले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर ५ लाख ८० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए ।

 

‘द अर्गानिक भ्याली प्राली’ युरोपियन बजारमा उत्कृष्ट पाँचभित्र परेको उहाँले जनाए । यसले चालू आर्थिक वर्षमा अदुवाबाटै ६ करोड ७८ लाख ६० हजार नेट आम्दानी गर्ने लक्ष्य राखेको छ । हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रालीका लागि रु ४० लाख स्वीकृत भइसकेको निर्देशक नेवाको भनाइ छ ।

 

प्रालीले कर्णालीको अदुवालाई युरोप निर्यात गर्न १० चरण पार गर्नुपर्दछ । शुरुमा किसानबाट सङ्कलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्दै आएको छ । यसले आफै.ले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ ।

 

सङ्कलनपश्चात् व्यवस्थित भण्डारण गर्ने ठाउँ नहुँदा वर्षेनी ६० हजार केजी अदुवा कुहिने गरेको उनले बताए । विशेषगरी, सल्यान, रुकुम, सुर्खेत, डोटी र पाल्पाका किसानले आफूले उत्पादन गरेको अदुवा प्रतिकिलो ३५ मा विक्री गर्दै आएका छन् । पुसको दोस्रो सातासम्म किसानबाट करीब ९०० मेट्रिक टन अदुवा सङ्कलन गरेको प्रालीका प्रबन्ध निर्देशक नेवाले जनाए ।

 

‘हामीले किसानबाट उद्योगसम्म ल्याई पुर्याउँदा अदुवा प्रतिकिलो ४३ पर्छ,’ निर्देशक नेवाले भने, ‘१ हजार २०० मेट्रिक टन सङ्कलन गर्ने लक्ष्य राखेको प्रालीले अहिलेसम्म ३ करोड ७५ लाख रकम बराबरको करीब ९०० मेट्रिक टन अदुवा सङ्कलन गरिसकेको छ ।’

 

प्रालीबाट अदुवा कृषकलाई पनि राम्रै आम्दानी भएको छ । विगतमा झण्झट भोग्दै आएका किसानहरुले सडक सञ्जाल जोडिएपछि आफ्ना उत्पादनको अपेक्षाकृत बजारीकरण भएको र सन्तुष्टि मिलेको बताएका छन् ।

 

कर्णाली प्रदेशका प्रवक्ता एवं भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले सुर्खेतमा सञ्चालित उद्योगले कर्णालीलाई युरोपसँग जोड्ने काम गरेको बताइन् । यो प्रदेशमा अदुवा, दुग्ध, जुस, दाना, ह्याचरी, जुसलगायतका करीब २५ उद्योग यो प्रदेशमा सञ्चालन भएको बताउँदै मन्त्री केसीले सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीबाट कर्णालीको आर्थिक समृद्धि हुने दाबी गरिन् । रासस

विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी खुला गर्नु हुन्न : निजी क्षेत्र Read Previous

विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी खुला गर्नु हुन्न : निजी क्षेत्र

चन्द्रागिरी हिल्सको आइपीओमा १५ गुणा बढी आवेदन, अहिलेसम्म कतिले भरे ? Read Next

चन्द्रागिरी हिल्सको आइपीओमा १५ गुणा बढी आवेदन, अहिलेसम्म कतिले भरे ?