विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी खुला गर्नु हुन्न : निजी क्षेत्र
चाणक्य पोष्ट
प्रकाशित : 3:59 pm, सोमबार, पुस २७, २०७७

काठमाडौं । सरकारले विस्तृत अध्ययन गरेर मात्रै कृषि क्षेत्रमा विदेशी लगानी (एफडीआई) भित्र्याउन दिनु पर्ने निजी क्षेत्रका व्यवसायीले बताएका छन् ।

 

निजी क्षेत्रका व्यावसायीको छाता संगठनहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले हालै सरकारले कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय बारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

 

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ संशोधन गर्दै पुस २० गते राजपत्रमा प्रकाशित गरी कृषिमा विदेशी लगानी भित्र्याउने बाटो खुला गरिदिएको थियो । सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी कृषिमा विदेशी लगानी खुला गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

 

स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कृषिमा विदेशी लगानी खुला गर्नुपर्ने निक्षी क्षेत्रका संगठनले बताएका हुन् ।यथास्थितिमै कृषि क्षेत्रमै लगानी भित्र्याउन दिन नहुने उनीहरुको जिकीर छ ।

 

विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिबद्धता पूरा गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । सरकारले निजी क्षेत्रसँग छलफल गरेर मात्रै यससँग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउनु पर्ने निजी क्षेत्रको सुझाव छ ।

 

कृषिजस्तो सर्वसाधारणको जीविकासँग प्रत्यक्ष जोडिएको विषयमा विदेशी लगानी भित्र्याउन नहुने तर्क रहेको तर, बढ्दो व्यापार घाटा कम गर्न एवं उत्पादन तथा उत्पादकत्व बढाउन विदेशी लगानी र प्रविधि आवश्यक रहेको उनीहरुको भनाइ छ ।

 

२०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पूर्णतः बन्देज गरेको थियो । सरकारले हालै उक्त ऐनलाई संशोधन गरी आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपक्षीपालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।

Advertisement Section