काठमाडौं । उखु किसानले आन्दोलन स्थगित गरेको दुई साता बित्न लागे पनि अझै चिनी उद्योगबाट भुक्तानी पाउन सकेको छैनन् ।
उखु किसानले झन्डै ३ साता लामो आन्दोलन पछि पुस १३ गते सरकारसँग सम्झौता गर्दै आन्दोलन स्थगित गरेका थिए । सरकारले २१ दिन भित्र उखु किसानको सबै बक्यौता रकम भुक्तानी गर्न चिनी उद्योगहरुलाई निर्देशन दिए पनि अहिलेसम्म किसानको भुक्तानी हुन सकेको छैन ।
आन्दोलनकै क्रममा पुस १४ गते उखु किसान नरेन्द्र यादव (भगजी) को मृत्यु समेत भएको थियो । यादवको मृत्युको भोलिपल्ट उनको खातामा १६ लाख रुपैयाँ भुक्तानी गरिएको थियो । त्यस यता लुम्बिनी र श्री राम चिनी मिलले थोरै थोरै रकम भुक्तानी गरे पनि अन्नपूर्ण र इन्दिरा चिनी मिलले भने किसानको भुक्तानी गरेका छैनन् ।
अन्नपूर्ण र इन्दिराचिनी मिलका सञ्चालक राकेश अग्रवालले दैनिक १ करोड रुपैयाँ उखु किसानको खातामा भुक्तानी गर्ने बताएका थिए । उनले पुस ७ गते विज्ञप्ति प्रकाशन गर्दै बक्यौता भुक्तानी गर्ने बताए पनि किसानको आन्दोलन स्थगित भए यता भुक्तानी गरेका छैनन् ।
जनता समाजवादी पार्टीका नेपाल विद्यार्थी नेता तथा उखु किसान मनिष मिश्राले केही दिन भुक्तानी गरे पनि आन्दोलन स्थगित भएको दिनदेखि एक रुपैयाँ पनि भुक्तानी नआएको र सञ्चालक अग्रवाल भूमिगत भइ सम्पर्क विहीन रहेको बताए ।
‘हाम्रो उखु किसानको मृत्यु भएको भोलिपल्ट १६ करोड रुपैयाँ एकै चोटी भुक्तानी आयो तर, त्यसपछि श्रीराम र लुम्बीनीले थोरै थारै भुक्तानी गरिरहेका छन् तर, अन्नपूर्ण र इन्दिराको मालिकले एक रुपैयाँ पनि तिरेको छैन,’ मिश्राले चाणक्य पोष्टसँग भने ।
२१ दिन भित्र उखु किसानको पैसा नतिरे फेरि आन्दोलन शुरू गर्ने चेतावनी समेत दिएका छन् । सर्लाहीमा रहेको अन्नपूर्ण र नवलपरासीको इन्दिरा सुगर मिलले गरी झण्डै २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।
अन्नपूर्ण मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । इन्दिरा चिनी मिले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छैन । अन्नपूर्ण चिनी मिलले सूचना निकालेको पहिलो दिन बैंक खातामा १ करोड ५७ लाख रुपैयाँ जम्मा गराएका थिए । दोस्रो लटमा ८१ लाख जम्मा गरेका थिए । हालसम्म अन्नपूर्ण चिनी मिलले ५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
यस्तै, श्रीराम चिनी मिलले ३३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो भने लुम्बिनी चिनी मिलले ८ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छैन । श्रीरामले हालसम्म २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । लुम्बिनी सुगर मिलले १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । लुम्बीनी सुगर मिलका सञ्चालक मनोज अग्रवालले कारबाही पछि १ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसिले भने हालसम्म भुक्तानीको विवरण मन्त्रालयमा नआएको बताइन् । उनले २१ दिनको म्याद दिएको हुनाले भुक्तानी नभएको खण्डमा मन्त्रालयले कारवाहीको काम शुरू गर्ने बताइन् ।
५ वर्ष यता उखु किसानहरुले उखुको मूल्य पाउन प्रत्येक वर्ष काठमाडौँं धाउनु परेको छ । यो वर्ष उद्योगीहरुकै मिलेमतोमा किसानले बेच्ने उखुको मूल्य प्रतिक्वीन्टल ५४४ रुपैयाँ मूल्य निर्धारण गरियो । तर, आजसम्म पनि निर्धारण गरिएको मूल्य किसानले समयमा भने जति पाउन सकेका छैनन् ।
किसानको भुक्तानीका लागि सीधैै बैंकमा भुक्तानीको व्यवस्था मिलाए पनि रकम भुक्तानी नगर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । उखुमा मात्र नभई मल, बीउ, हरेक क्षेत्रमा सधैं किसान पीडित हुनु परेको र ठगिने गरेका छन् । यस विषयमा राज्य पनि जवाफदेही हुन सकेको छैन ।