सेयर बजारले बनायो फेरि ऐतिहासिक रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ ।

 

गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

 

बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२०० विन्दु पार गरेको यो पहिलो पटक हो ।

 

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३० खर्ब नाघेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८८.४५ अंकले बढेको छ ।

 

कारोबारमा आएका २०७ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता प्रभु बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४० करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक ३० करोड र नेपाल पुनर्बीमा कम्पनी २४ करोडसहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंक, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ४.३१ प्रतिशत गुमाएका छन् ।

अब कालिमाटी तरकारी बजारमा क्यू आर कोडबाट भुक्तानी,  प्रभु बैंकको सेवा संचालनमा Read Previous

अब कालिमाटी तरकारी बजारमा क्यू आर कोडबाट भुक्तानी, प्रभु बैंकको सेवा संचालनमा

सम्झौता भएको २ हप्ता बित्दा पनि उखु किसानले अझै पाएनन् भुक्तानी, चिनी उद्योगी भूमिगत Read Next

सम्झौता भएको २ हप्ता बित्दा पनि उखु किसानले अझै पाएनन् भुक्तानी, चिनी उद्योगी भूमिगत