२ करोडकोे मोबाइल भ्यान किन्न महानगरलाई ठेकेदार पाउनै मुश्किल, तेस्रो टेन्डरमा बल्ल पर्‍यो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा भित्रिने तरकारीको विषाधि परीक्षणका लागि मोबाइल भ्यान किन्न ठेक्का आह्वान गरेको तेस्रो पटकमा बल्ल आवेदन परेको छ ।

 

यसअघि दुईपटक टेन्डर आह्वान हुँदा आवेदन नपरे पनि तेस्रो पटक भने दुई कम्पनीले आवेदन दिएका छन् ।

 

महानगरपालिकाले २०७६/७७ मै एउटा मोबाइल भ्यान ल्याउन बजेट तय गरेको थियो । गत वर्ष टेन्डर आह्वानका क्रममा कसैको ठेक्का परेको थिएन । तेस्रो पटक गरिएको ठेक्का आह्वानमा भने दुई कम्पनीले आवेदन दिएको महानगरपालिकाले जनाएको छ ।

 

महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार तेस्रो पटको टेन्डरमा पेसिट्री र क्यानडलाइन कम्पनीले मोबाइल भ्यान खरिदका लागि टेन्डर हालेका हुन् ।

 

असारमा आह्वान गरिएको ठेक्का अनुसार दुई कम्पनीले दिएको आवेदन मूल्यांकनको चरणमा रहेको उनले बताए । ‘तेस्रो पटकको टेन्डरमा दुई कम्पनीले आवेदन दिएका छन् । सो ठेक्का प्रक्रिया अहिले मूल्यांकनको चरणमा छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘गाडीको कुरा फरक हो, टेन्डर हुना साथ खरिद भइहाल्छ भन्ने छैन । अहिले मूल्यांकन भइरहेको छ ।’

 

उनका अनुसार ठेकेदार छनोट पछि सम्झौता भएको २ महिनामा उसले भ्यान ल्याउनु पर्नेछ । सो भ्यान ल्याउनका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विगतमा कोरोनका कारण पनि टेन्डरले गति लिन नसकेको उनको भनाइ छ ।

 

उपत्यकामा आउने तरकारीको विषाधि परीक्षणका लागि सो मोबाइल भ्यान खरिद गर्न लागेको उनले बताए । मोबाइल भ्यानसँगै विषाधि परीक्षणको छुट्टै सेट पनि किनिने छ ।

 

काठमाडौं महानगरपालिकाले ल्याउन लागेको भ्यान डेढ वर्षदेखि अन्योलमा रहेको छ । अबको टेन्डरमा मोबाइल भ्यान आउने कि नआउने कुनै टुंगो छैन । महानगरको भ्यान ल्याएपछि कृषि सामग्रीहरूको विषाधि परीक्षण गर्न सञ्चालन गरिने छ ।

 

यस अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरी २४ करोड बजेटमा चार वटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो ।

 

सो मोबाइल भ्यान खरिदपछि सञ्चालनमा आएको १ साता नपुग्दै अनियमितताको उजुरी परेर थन्किएको थियो ।सो उजुरीमा प्रधानमन्त्री कृषि परियोजनाका सहसचिवसहित १३ विरुद्ध मुद्दा दायर भएको थियो । चार वटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको मुद्दामा दायर भएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते सहसचिवसहित १३ जनाविरुद्ध सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । डेढ वर्षदेखि विभागको परिसरमा थन्किएर बसेको मोबाइल भ्यान प्रयोगमा नआउँदा बिग्रिने अवस्थामा पुगेको छ ।

 

काठमाडौं महानगरपालिकाले ल्याउन लागेको भ्यान डेढ वर्षदेखि अन्योलमा रहेको छ । अबको टेन्डरमा मोबाइल भ्यान आउने कि नआउने कुनै टुंगो छैन । महानगरको भ्यान ल्याएपछि कृषि सामग्रीहरूको विषाधि परीक्षण गर्न सञ्चालन गरिने छ ।

चन्द्रागिरी हिल्समा १४ प्रमोटर सेयर होल्डर, कसको सेयर हिस्सा कति ? Read Previous

चन्द्रागिरी हिल्समा १४ प्रमोटर सेयर होल्डर, कसको सेयर हिस्सा कति ?

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Next

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति