चन्द्रागिरी हिल्समा १४ प्रमोटर सेयर होल्डर, कसको सेयर हिस्सा कति ?
चाणक्य पोष्ट
प्रकाशित : 12:35 pm, शनिबार, पुस २५, २०७७

काठमाडौं । चन्द्रागिरी हिल्स सर्वसाधरणमा सेयर जारी गर्ने पहिलो केबलकार कम्पनी हो ।

 

यसले काठमाडौंको दक्षिणी क्षेत्र थानकोटदेखि चन्द्रागिरी डाडाँसम्म केबलकार सेवा संचालन गरिरहेको छ । साथै, सोही स्थानका पर्यटकीय होटल समेत छिट्टै संचालनमा ल्याउने तयारी समेत  गरिरहेको छ ।

 

कुल अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी (प्रमोटर सेयर होल्डर)को हिस्सा ८८ प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा १२ प्रतिशत रहेको छ ।

 

कम्पनीले संस्थापक सेयरधनीबाट १ अर्ब ३५ करोड रुपैयाँ बराबरको पूँजी जुटाइसकेको छ भने सर्वसाधरणमा सेयर जारी गरी १८ करोड ४० लाख ९१ हजार रुपैयाँ उठाउने क्रममा रहेको छ ।

 

कम्पनीले यस अघि नै आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि चुक्ता पूँजीको २ प्रतिशत अर्थात् ३ करोड ६ लाख ८१ हजार ९०० रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ । पुस २४ देखि सर्वसाधरणका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको (१० प्रतिशत) आइपीओ विक्रिमा ल्याएको छ ।

 

हाल १ अर्ब ३५ करोड रुपैयाँ रहेको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

 

कम्पनीमा प्रमोटर सेयर होल्डरको संख्या १४ रहेको छ । जसमा १२ जना व्यक्ति रहेका छन् भने २ वटा कम्पनी छन् । कम्पनीमा प्रमोटर सेयर होल्डरको हिस्सा ८८ प्रतिशत रहेको छ ।

 

कम्पनीको मुख्य सेयर होल्डरको रुपमा व्यवसायी चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल रहेका छन् । यी दुवैको समान २९ लाख ४३ हजार ३३७ कित्ता सेयर अर्थात् १९.१८ प्रतिशत हिस्सा रहेको छ ।

 

यस्तै, हाथवे इन्भेष्टमेन्टका संचालक समेत रहेका उत्तम नेपालको १९ लाख ६२ हजार २२५ कित्ता(१२.७९ प्रतिशत) सेयर स्वामित्व रहेको छ हाइवे इन्भेष्टमेन्ट कम्पनी र भाटभटेनी सुपरमार्केट पनि कम्पनीको संस्थागत सेयरधनीको रुपमा रहेका छन् । यी दुई कम्पनीले चन्द्रागिरीमा १२ करोड ५१ लाख ११२ रुपैयाँ लगानी गरेका छन् । यो कुल सेयरको हिस्सा ८.१५ प्रतिशत हो ।

 

यस्तै, कम्पनीमा अम्विकाप्रसाद पौडेल ९ लाख ३ हजार १५० कित्ता, कल्याण गुरुङ ८ लाख ४६ हजार ८१३, मीनबहादुर गुरुङ, नवराज नेपाल, सावित्री गुरुङको समान ६ लाख ५४ हजार ७५ कित्ता सेयर रहेको छ । अन्य ५ जनाको ६ लाख ६५ हजार कित्ता सेयर रहेको छ ।

 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

 

कम्पनीले अहिले चुक्ता पूँजीको १२ प्रतिशत बराबबर आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

 

वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ९४.५२, ९६.६३, ९६.६९ र ८४.८८ रहेको छ । यसैगरी चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ र आगामी २ आर्थिक वर्षमा १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण कम्पनीले गरको छ ।

 

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

 

कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

 

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्ट लगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

 

Advertisement Section