काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो ।
खास गरेर चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएका सडकको निर्माण नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएदेखि नै अघि बढिरहेको छैन ।
त्यतिबेला स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढ्न नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।
गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरु हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै कम हुनसक्ने उनको भनाइ छ ।
उनले भने, ‘हामीले चिनियाँलाई सम्पर्क गरिरहँदा पनि उनीहरुले सङ्क्रमण नहटेसम्म आउन नचाहेको भनिरहेका छन् ।’
चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक ८ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डको विस्तारमा चासो देखाएको थियो । सरकारले कलङ्की–चाबहिल (गोपीकृष्ण हल) सम्म सडक विस्तारका लागि निर्माणस्थल खाली गराइरहँदा चिनियाँ टोली भने फर्किएका छैनन् । उनीहरु नफर्किएसम्म सडक निर्माण अघि नबढ्ने प्रमुख थापाले बताए ।
चीन सरकारको सहयोगमा नै निर्माण गरिने रसुवागढी–स्याफ्रुबेँसी सडक निर्माण ठप्प छ । चीन सरकारको नै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग मर्मतको कामसमेत गर्ने गरी छलफल भए पनि त्यो अहिले अघि नबढेको विभागले जनाएको छ ।
कोभिड–१९ का कारण लामो समयसम्म पूर्वाधार निर्माण सुस्त रहे पनि सरकारका लगानीका अधिकांश योजना अहिले अघि बढिरहेका छन् । सरकारले कोभिड–१९ कै कारण निर्माणमा बाधा पुगेका योजनालाई ६ महिना अवधि थप गरेर निर्माण अघि बढाइरहेको छ । अन्तर्राष्ट्रिय निर्माण कम्पनी संलग्न योजनामा भने काम गर्न अझै सहज नभएको विभागले जनाएको छ ।
निर्माणका लागि कतिपय सामग्री विदेशबाट ल्याउनुपर्ने अवस्थामा त्यो ल्याउने वातावरण सजिलो छैन । भारत सरकार र जापान सरकारको सहयोगमा निर्माणाधीन कतिपय योजना भने कोभिडपछि सञ्चालनमा छन् ।