सिनर्जी पावरले २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलविद्युतमा लगानी गर्ने
चाणक्य पोष्ट
प्रकाशित : 3:43 pm, बुधबार, पुस २२, २०७७

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।

 

कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो ।

 

सो आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत सेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए ।

 

कम्पनीले भर्चुअल माध्यमबाट एकैपटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को साधारणसभा सम्पन्न गरेको हो । सभाले लाभांशसहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

 

कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

 

सो प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो । कम्पनीले आइपीओ निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । यसैगरी सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ ।

 

सेयरधनीलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उद्देश्यले सेयरधनीको मागबमोजिम नै व्यवसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष थापा बताउँछन् । उनले आगामी वर्षमा लाभांश दर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

Advertisement Section