पर्यटक आगमनमा ८० प्रतिशत गिरावट, कुन देशबाट कति आए ?

काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।

 

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८०.८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

 

कोभिडका कारण करीब ६ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तरराष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

 

बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए। नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७.५ प्रतिशत पर्यटक आगमन छ । म्यान्माबाट ९.१, थाइल्याण्डबाट ९, चीनबाट ८.४, अमेरिकाबाट ७.७ र श्रीलङ्काबाट ५.८ प्रतिशत पर्यटक आगमन रहेको छ ।

 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

भारतमा कोरोनाका दुई खोप प्रयोग गर्न अनुमति Read Previous

भारतमा कोरोनाका दुई खोप प्रयोग गर्न अनुमति

फास्ट ट्रयाकमा सुरुङ बनाउन दुई कम्पनी मात्र सर्टलिस्टमा Read Next

फास्ट ट्रयाकमा सुरुङ बनाउन दुई कम्पनी मात्र सर्टलिस्टमा