
काठमाडौं । नेपाल सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निर्माणका लागि दुई वटा कम्पनी सर्टलिस्टमा परेका छन् ।
सुरुङ निर्माणका लागि सेनाले आह्वान गरेकोमा विभिन्न ४३ वटा कम्पनीहरुले आवेदन दिएका थिए । सो मध्ये प्रि क्वालीफकेशन टेन्डरबाट २ वटा कम्पनी मात्र सर्टलिस्टमा परेका हुन् ।
आयोजनाले दुई वटा प्याकेजमा छुट्टाछुट्टै टेन्डर आह्वान गरेको थियो । त्यसमा जम्मा दुईवटा कम्पनी मात्र छानिएका हुन् । दुवै खण्डमा एउटा कम्पनी दोहोरिएको छ ।
सुरुङ निर्माणका लागि सेनाले आह्वान गरेकोमा विभिन्न ४३ वटा कम्पनीहरुले आवेदन दिएका थिए । सो मध्ये प्रि क्वालीफकेशन टेन्डरबाट २ वटा कम्पनी मात्र सर्टलिस्टमा परेका हुन् ।
सेनाले आवेदन दिने अन्य सबै कम्पनीले मापदण्ड नपुगेको भन्दै पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कम्पनीलाई सर्टलिष्ट गरेको छ भने दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ मात्रै छनोट भएको छ ।
यो बोलपत्र टनेल बनाउने कम्पनीहरुको प्रि क्वालीफिकेसनका लागि आह्वान गरिएको हो । प्रि क्वालिफिकेशन मार्फत सो कम्पनी टनेल बनाउन योग्य भए/नभएका विषयलाई अध्ययन गरिने सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले बताए ।
दुवै प्याकेजको सुरुङ बनाउन प्रि क्वालीफकेसन लागि ४३ वटा कम्पनीहरुले डकुमेन्टहरु पठाएका थिए । सो मध्ये २१ वटा कम्पनीले पहिलो प्याकेजका लागि प्रस्ताव गरेका थिए । २२ वटा कम्पनीहरुले दोस्रो प्याकेजका लागि प्रस्ताव पेस गरेका थिए । ती मध्ये १४ वटा कम्पनीले दुवै प्याकेजका लागि प्रस्ताव गरेको पौडेलले बताए ।
उनले सो आवेदन आएका कम्पनीहरुको दक्ष जनशक्ति, निर्माण सामग्री, अनुभव, टर्नओभर लगायतका सबै जानकारी हेरेर सर्टलिस्टमा राखिएको बताए । ‘यो प्रि क्वालीफिकेसनका लागि मात्र आह्वान गरिएको बोलपत्र हो, यसमा उनीहरु टनेल बनाउन योग्य छन् छैनन् भनेर हेरिन्छ, कानून अनुसार टनेल निर्माणका लागि एउटा कम्पनीसँग १६ प्रकारका टनेल इन्जिनीयर हुनुपर्छ, निर्माण सामग्री २१ प्रकारका हुनुपर्छ, यसरी हेर्दै जादा धेरैमा कमीकमजोरी भेटिए छान्दै जाँदा २ वटा मात्र कम्पनी सर्टलिस्टमा परेका हुन्,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
उनले सो कम्पनीहरु सर्टलिस्टमा परे पनि अझै उनीहरुले नै निर्माण गर्ने कन्फर्म नहुने बताए । अबको चरणमा १० दिनभित्र अर्को बोलपत्र आह्वान गरिने छ । जसमा सेनाले कानूनी परीक्षण प्रस्ताव गर्नेछ । ४५ दिनमा सो कम्पनीले सबै प्रकारका माग गरिएका डकुमेन्टहरु पठाउनु पर्नेछ । सो डकुमेन्ट सेनाले मूल्यांकन गरी मापदण्ड अनुसार प्रकृया पूरा भएको खण्डमा सम्झौता गरी मोबीलाइजेसन गर्ने छ ।
उनले आवेदन दिएका कम्पनीहरुमा कसैको ट्याक्स क्लियरेन्स नभएको, कोहीको इक्यूबमेन्ट नपुग्ने त कसैको जनशक्ति नै काम भएका कारण धेरै बाहिरिएको बताए । २ वटा कम्पनीलाई मात्र सर्ट लिस्टमा राखेका कारणका बारेमा ४ वटा कम्पनीले प्रश्न गरेको उनले बताए ।
‘यो पुस अन्तिमसम्ममा बोलपत्र आवहान गरिसक्छौं, माघको १५ गतेसम्ममा उनीहरुले डकुमेन्ट बुझाउने छन्, त्यसलाई मूल्यांकन गर्न इभ्यालुएसनका १ महिना लाग्छ, एउटै कम्पनीका ५/७ वटा ठूलठूला फाइल हुन्छन्, सबै चेक गर्न समय लाग्छ, सबैमा पास भए उनीहरुलाई सम्झौता गरी मोभिलाइजेसन गरिनेछ,’ पौडेलले भने ।
उनले टनेल निर्माणका क्रममा एउटै उचाइमा बनाउनु पर्ने भएकाले सो निर्माण सबै प्रकारका कम्पनीले गर्न सक्न चुनौती हुने बताए । नेपालको सन्दर्भमा बाटो धेरै घुम्ती हुने हुँदा त्यसमा ब्रिज राख्ने अथवा माटोले पुरेर उचाइ मिलाउनु पर्ने उनको भनाइ छ ।
उनले सो टनेल निर्माणका क्रममा ल्याण्ड कटिङ र फिलिङको काम धेरै हुने बताए । ‘सर्ट लिस्टमा पर्दैमा उनीहरुले टनेल बनाउने कन्फर्म हुदैन, अबको चरणमा पास भएपछि मात्र उनीहरुले काम गर्न पाउने छन्,’ पौडेलले भने ।
बोलपत्रद्धारा निर्माण कम्पनी छनोटका क्रममा रहेको नेपाल सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले वैशाख भित्र निर्माण शुरु गर्ने गरी काम भइरहको बताए । उनले बोल पत्र आवहान, इभ्यालुएसन लगाएतका कामहरु समयमै भए वैशाख भित्र टनेल निर्माणको काम शुरु हुने बताए ।
कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरुङमार्ग ६.४१ किमी र पुलहरुको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये अहिलेसम्म ४४. १ किलोमिटर सडक खण्डमा माटोर ढुंगा काट्ने र भर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यसकाममा लागि अहिलेसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
राष्ट्रिय परामर्शदाता छनोट भई सुचारु गरिएको सो अध्ययन कार्य सम्पन्न गरिएको हो । जियो टेक्नीकल इन्भेष्टमेन्ट अन्तर्गत महादवटारमा ९, धेद्रेमा ५ र लेनडाँडामा ४ गरी कुल १८ स्थानमा ड्रिलिङको काम अन्तिम चरणमा रहेको छ ।
ड्रिलिङ कार्य सम्पन्न भएका स्थानको स्यामपलहरूको परीक्षण गर्ने कार्य समेत शुरू भइसकेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप ड्रिलिङ तथा परीक्षण गर्ने कार्य भईरहेको छ । सुरुङ मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएको छ ।