काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।
यसअघि मंसिर १७ गते इतिहासकै उच्च २०७१ विन्दुको रेकर्ड बनाएको थियो । यस साताको पहिलो दिन करिब ४० अंकले घटेको बजार त्यस यताका ४ दिनमा करिब ८८ अंकले बढेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २५.२१ अंकले बढेर २०८७.२७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ५अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १८७.७३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ९६.४३ अंकले घटेको छ ।
कारोबारमा आएका २०७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता हिमालयन डिस्ट्रीलरीको सेयरमा झुम्मिएका छन् । गत वर्षको नाफाबाट १०० प्रतिशत लाभांश् घोषणा गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हुँदा लगानीकर्ता यसको सेयर प्रति आकर्षित भएका हुन् । आज यसको सबैभन्दा धेरै ४६ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा नेपाल लाइफको ३७ करोड र नागरिक लगानी कोषको २८ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
आज साल्ट ट्रेडिङको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज नारायणी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.७८ प्रतिशत गुमाएका छन् ।
यस साता लगातार पोजेटिभ सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतले गुमाएका छन् ।