चीन सरकारले फिनटेक कम्पनीहरुलाइ नयाँ नियम कानूनले बाँध्न थालेपछि चिनीयाँ अर्बपति ज्याक माको सम्पत्ति गत अक्टोबर यता १२ अर्ब डलर (करिब १४ खर्ब ४० अर्ब रुपैयाँ) ले घटेको छ ।
चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबा लगायत अन्य धेरै कम्पनीका संस्थापक रहेका ५६ वर्षिय माको कुल सम्पत्ति गत अक्टुबर महिनामा ६२ अर्ब डलरसम्म पुगेको थियो । त्यो समय उनी एशियाको सबैभन्दा धनी बन्ने दौडमा थिए । अहिले उनी ब्लुमबर्ग बिलेनायर इन्डेक्सको सूचीमा विश्वको २५ औं धनी व्यक्तिको रुपमा रहेका छन् ।
उक्त सूचकका अनुसार अहिले उनको कुल सम्पत्ति ५०.९ अर्ब डलर रहेको छ । चिनियाँ नियामकहरुले गत अक्टोबर यता प्रविधि र अनलाइन व्यवसायको क्षेत्रमा नयाँ नियमहरु लागू गरेका छन् । यो नियामले माको एन्ट ग्रुपलाई पनि ठूलो धक्का लागेको छ ।
नियामकहरुका अनुसार इन्टरनेट व्यवसायमा विद्यमान एकाधिकार तोड्नका लागि उक्त नियमहरु लागू गरिएका थिए । नयाँ नियमहरु आए पश्चात् माको एन्ट ग्रुपले ल्याउन लागेको विश्वकै ठूलो आइपीओ पनि हाललाई स्थगित भएको छ ।
अहिले माका उच्च अधिकारीहरु नियामकसँग निरन्तर बैठकमा रहेका छन् । नियामकले माको सबैभन्दा धेरै नाफा कमाउने अनलाइन कार्ज प्रवाह गर्ने व्यवसायलाई विद्यमान कानून र नियम अनुसार सुर्धान भनिरहेका छन् ।
एन्ट ग्रुपको कर्जा प्रवाह गर्ने युनिट, सम्पत्ति व्यवस्थापन सेवा लगायत अन्य नाफामूलक व्यवसायहरुलाई नयाँ वित्तीय होल्डिङ कम्पनीको रुपमा खडा गरेर पिपुल्स बैंक अफ चाइनाले नियामन गर्ने व्यवस्था गर्न लागिएको छ ।
नयाँ संरचना अन्तर्गत फिनटेक कम्पनीहरुको पूँजीगत सीमा निर्धारण गरिएको छ । यसले अघिल्ला वर्षहरुमा झैं व्यापक रुपमा यस्ता कम्पनीहरुले कर्जा विस्तार गर्ने क्षमता संकुचित पारिदिएको छ ।
साथै, चीन सरकारले ज्याक माको कम्पनीमा उनी भन्दा धेरै हिस्सेदारी खोजेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । अर्बपति माको एन्ट ग्रुपमा कन्ट्रोलिङ हिस्सेदारी छ भने अलिबाबाको उक्त कम्पनीमा ३३ प्रतिशत नन–कन्ट्रोलिङ हिस्सेदारी रहेको छ ।
चिनियाँ केन्द्रिय बैंकका डेपुटी गर्भनर प्यान गोङसेङका अनुसार फिनटेक कम्पनी एन्ट चीनको नियम कानुन प्रति उदासिन रहेको आरोप लगाएका छन् ।
एन्टले पछिल्लो समय धेरै पटक नियामकको भनाइ अनुसार आफ्नो व्यवसायको संरचना बदलिसकेको छ । तर, डेपुटी गर्भनर उक्त कम्पनीले समग्र चीनको विकास प्रक्रियासँग तादम्यता मिलाउनु पर्ने बताउँदै आएका छन् ।
उता ज्याक माले सरकारलाइ उसले चाहे अनुसार एन्टको कुनै पनि भर्टिकलको स्वामित्व लिन सक्ने बताउँदै आएका छन् । ‘सरकारले आवश्यकता अनुसार कुनैपनि प्लेटर्फममा हिस्सेदारी लिन सक्नेछ,’ उनले भनेका छन् ।
अहिलेसम्म उनको प्रस्ताव चीन सरकारले स्वीकारी सकेको छैन ।एन्टको व्यवसायीक योजनाहरुलाई कस्न थालेपछि अलिबाबाको सेयर २३ प्रतिशतले घटिसकेको छ ।