काठमाडौं । सरकारको ५ वर्षे योजना अनुसार हाल देशभरका ३१ विमानस्थलको स्तरोन्नति र आधुनिकीकरणको काम भइरहेको छ ।
सोही क्रममा क्षेत्रीय विमानस्थलको रुपमा रहेको नेपालगञ्ज विमानस्थलको काम धमाधम भइरहेको छ । विमानस्थलको स्तरोन्नति अन्तर्गत हालसम्म एप्रोन, हेलिप्याड निर्माण सम्पन्न भइसकेको छ भने विमानस्थलको पश्चिमतर्फ २०० मिटर धावनमार्ग विस्तारको काम भइरहेको छ ।
नागरिक उड्यन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर भवन निर्माण गर्नको लागि परामर्श दाताले भने अनुसार प्रिक्वालीफकेसन र कन्सलटिङ सर्भिसका लागि ठेक्का आह्वान भएको छ ।
उनले हाल विमनस्थलको कामले गति लिइरहेको बताए । उनले विमानस्थलमा हेलिप्याड निर्माणको काम सम्पन्न हुनुका साथै एप्रोनको काम सकिएको जानकारी दिए ।
नेपालगञ्ज विमानस्थलमा २ हजार ६५० मिटर रनवे बनाइने भएको छ । सो विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको समेत डिजाइन तयार भइसकेको छ । टर्मिनल भवनका लागि मात्र २ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
मास्टर प्लान अनुसार विमानस्थल स्तरोन्नतिका लागि ११८ बिघा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । सो विमानस्थल स्तरोन्नतिका लागि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
विमानस्थल स्तरोन्नति पूरा भएपछि ए–३२०, बी ७३७ जस्ता एयरक्राफ्टहरु उडान भर्न सकिने छ ।
देशभरका ३१ विमानस्थलको स्तरोन्नति हुँदै
सरकारले देशभरका विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको छ । जस अन्तर्गत देशभरका ३१ विमानस्थहरु स्तरोन्नति र आधुनिकिकरण गर्न लागिएको हो । प्राधिकरणले अत्याधुनिक भौतिक निर्माण सहित देशभरका विमानस्थल स्तरोन्नतिको योजना बनाएको हो ।
क्यानले विराटनगर, नेपालगञ्ज, चन्द्रागढी, धनगढी, भरतपुर, जनकपुर, राजविराज लगायतका विमानस्थलहरुको स्तरोन्नति गरिरहेको छ ।
साना आन्तरिक विमानस्थलहरुमा सुर्खेत, ताप्लेजुङ, लुक्ला, जोमसोम, रामेछाप, जुम्ला, सिमिकोट, रारा, लगायका विमानस्थलहरुलाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।
साथै साफेबगर विमानस्थल, लामिडाँडा विमानस्थल, खिजि–चन्द्रेस्वरी विमानस्थल, इलाम विमानस्थल, गुल्मी विमानस्थल, बैतडी विमानस्थल, बजाङ विमानस्थल, रुम्जाटार विमानस्थल, डोटी विमानस्थल, फाप्लु विमानस्थल, डोल्पा विमानस्थल, खानीडाँडा विमानस्थल, थमखर्क विमानस्थल, कालिकोट विमानस्थल, महेन्द्रनगर विमानस्थल लगायतका विमानस्थलहरुको स्तरोन्नति हुँदैछ ।
प्रवक्ता क्षेत्रीका अनुसार पछिल्लो समय सुर्खेत, ताप्लेजुङ, भैरहवा, नेपालगञ्ज, विराटनगर, धनगडी, चन्द्रागडी, भरतपुर लगायतका आन्तरिक विमान स्थलहरुमा धमाधम काम भइरहेको प्राधिकरणले जनाएको छ ।
सो विमानस्थलहरुमा जग्गा अधिग्रहण, ईआइए लगायतका कामहरु धमाधम भइरहेको उनले बताए ।