मनकामना केबलकार बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो ।यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

 

कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै १ हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए ।

 

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उनको भनाइ छ ।

 

नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिए ।

 

उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ ।

 

सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

भारतबाट ल्याएको रेल ३ महिनादेखि त्रिपाल मुनि, सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने Read Next

भारतबाट ल्याएको रेल ३ महिनादेखि त्रिपाल मुनि, सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने