काठमाडौं । धितोपत्र बोर्डले आफ्ना आम्दानीको स्रोतहरू बढाउँदै र नेप्सेको पनि यथास्थितिमा राख्दै सेयर ब्रोकरहरूको कमिशन भने ३३ प्रतिशतले घटाइदिएको छ । सेयर लगानीकर्तालाइ राहत दिन भनेर ब्रोकर कमिशन घटाएको भए पनि आफ्ना स्रोतहरू पनि धितोपत्र बोर्डले ‘बरकरार’ नै राखेको छ ।
‘आफ्नो हातमा डण्डा भएपछि जे गर्दा पनि हुन्छ भने जसरी वहाँहरूले काम गर्नु भएको छ । लगानीकर्ताको हितमै काम गर्ने भए उहाँहरूले लगानीकर्ताबाट आफूले पाउँदै आएको ०.०१५ प्रतिशत र ब्रोकरहरूबाट लिँदै आएको ०.६ प्रतिशत कमिशन किन घटाउनुभएन ?’, ब्रोकर संघका निर्वतमान अध्यक्ष भरत रानाभाट प्रश्न गर्छन् ।
आफ्ना आम्दानीको स्रोत केही पनि नघटाइ ब्रोकरहरूको मात्र घटाएको प्रति ब्रोकरहरूको गुनासो रहेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने बोर्डले लिँदै आएको ०.०१५ प्रतिशत ऐनमै व्यवस्था गरिएको हुँदा त्यसलाई आफूहरूले परिर्वतन गर्न नसक्ने बताए ।
लगानीकर्ताबाट ०.०१५ र ब्रोकरहरूबाट ०.६ प्रतिशत कमिशन लिँदै आएको धितोपत्र बोर्डले पछिल्लो समय आफूले जारी गर्ने हरेक लाइसेन्सको (मर्चेन्ट बैंक लगायतको) लागि शुल्क दुई गुणाले बढाएको छ ।
आफ्ना आम्दानीको स्रोत केही पनि नघटाइ ब्रोकरहरूको मात्र घटाएको प्रति ब्रोकरहरूको गुनासो रहेको छ ।धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने बोर्डले लिँदै आएको ०.०१५ प्रतिशत ऐनमै व्यवस्था गरिएको हुँदा त्यसलाई आफूहरूले परिर्वतन गर्न नसक्ने बताए ।
उनले सबै कुराको विचार गरेरै ब्रोकर कमिशन घटाइएको दाबी गरे । ‘हामीले आधारभूत कुराहरू हेरेर निर्णय गर्ने हो । विगतको तुलनामा कारोबार रकम अत्याधिक बढेको छ । अनलाइन प्रणालीको कारण ब्रोकरहरूको सञ्चालन खर्च पनि कम भएको छ,’ गिरीले चाणक्य पोष्टसँग भने, ‘अन्तर्राष्ट्रिय चलन पनि यस्तै छ । हामीले सबै कुरा मध्यनजर गरेरै यो कदम चालेका हौं ।’
अनलाइन कारोबार धेरै हुन थालेपछि लगानीकर्ताले अनलाइन कारोबारको लागि पैसा धरौटी राख्ने गरेको र त्यही पैसाको पनि ब्रोकरलाई ब्याज आम्दानी हुने गरेको गिरीले बताए ।
ब्रोकरहरूको भने यत्रो कदम चाल्दा पनि आफूहरूसँग एकवचन छलफल समेत नगरिएको गुनासो छ । ‘हामीले कमिशन नघटाउने भन्ने कुरा गरेका थिएनौं । तर कारोबारका अलावा आम्दानी गर्ने अन्य स्रोतहरूको व्यवस्था गर्नुपर्ने र बजारको समग्रतामा विकास हुनुपर्ने कुरा राखेका थियौं,’ रानाभाटले भने ।
उनका अनुसार एडभाइजरी सेवा, प्रोपराइटर ट्रेड, सर्टिफाइड एजेन्टको माध्यमबाट बजार विस्तार जस्ता अतिरिक्त काम गर्न दिइ आम्दानीको स्रोतहरू बढाउन दिन ब्रोकरहरूले धितोपत्र बार्डलाई आग्रह गरेका थिए ।
‘आम्दानीका अन्य स्रोतहरू छैनन् । कमिशन घटाइदिएर आम्दानी घटेपछि हामीले ग्राहकलाई दिने सेवामा प्रभाव पर्छ । आम्दानी घटाइदिने अनि गुणस्तरीय सेवा देउ भन्ने ? यस्तो कस्तो कुरा हो ? यसले हामीलाई दिगो रूपमा काम गर्न सहज हुँदैन,’ रानाभाटले भने ।
ब्रोकरहरूको कमिशन घटाउँदा आफ्ना आम्दानीका स्रोतहरू भने बढाउँदै लगेको धितोपत्र बार्डले नेप्सेको आम्दानीको स्रोतलाई पनि यथास्थितिमा राखेको छ । हाल नेप्सेले ब्रोकर कमिशनको २० प्रतिशत लिने गरेको छ । ब्रोकर कमिशन घट्दा ‘अमाउन्ट’मा नेप्सेले लिने कमिशन पनि घट्ने भए पनि प्रतिशतमा भने नेप्सेले पाउने कमिशन यथावत राखिएको हो ।
यो पनि पढ्नुहोस् : ३३ प्रतिशतले घट्यो ब्रोकर कमिशन,अब कतिको कारोबार गर्दा कति लाग्छ ?