काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकता अनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।
सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।
बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई आवश्यकतानुसार अल्पकालीन देखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने देखि बैंकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए ।
ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ्ग कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसंग कारोबार गर्न प्राथमिकता दिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ्ग समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए ।
महासंघका महासचिव दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए ।