खर्चै गर्नै सकेन महानगरले, केही शीर्षकमा खर्च शून्य

काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७५/७६ सालमा २ बिधामा एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । महानगरले पूर्वाधार तर्फको ढुंगा, ईट्टा छाप्ने र पुल तथा ‘कल्भर्ट’ निर्माण गर्न छुट्टाएको बजेट एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो ।

 

महानगरले ढुंगा, ईट्टा छाप्ने कामका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, आर्थिक वर्ष २०७५/७६ मा यस शीर्षक अन्तर्गत कुनै पनि बजेट खर्च गर्न सकेको छैन । उक्त शीर्षकमा चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने कुनै बजेट छुटाइएको छैन ।

 

पुल तथा कल्भर्ट निर्माणका लागि महानगरले १७ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम खर्च गर्न नसकेको महानगरले आर्थिक वर्ष २०७६/७७ सालका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  यो विषयमा महानगरसँग बुझ्न खोज्दा महानगरका कर्मचारीले प्रतिकृया दिन चाहेनन् ।

 

काठमाडौं महानगरपालीकाले गत वर्ष विनियोजन गरेको बजेट मध्ये ७ अर्ब ७२ करोड २६ लाख रुपैयाँ खर्च गर्न सकेन । आर्थिक वर्ष २०७५/७६ सालका लागि कुल १३ अर्ब २ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।आर्थिक वर्ष २०७६/७७ मा महानगरले १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

आर्थिक बर्ष २०७५/७६ मा महानगरले पूर्वाधार सुधार तथा अन्य विकास शीर्षक अन्तर्गत कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकम मध्ये ३ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गरेको हो । चालु आर्थिक वर्ष २०७६/७७ मा महानगरले पुँजीगत खर्चतर्फ ७ अर्ब ६४ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

भौतिक पूर्वाधार निर्माण अन्तर्गत महानगरले सडक, फुटपाथ तथा पार्किङ निर्माणको लागि गतवर्ष ५४ करोड रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्ममा १ करोड ५७ लाख ७२ हजार रुपैयाँ खर्च गरेको हो । त्यसैगरी सडक बत्ति निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन भएकोमा त्यस मध्ये १ करोड ३२ लाख ३९ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यस तथ्यांकले महानगरले भारी बजेट विनियोजन गर्ने गरेको तर, खर्च भने गर्न नसकेको देखिन्छ ।

 

वडा स्तरीय विकासमा नयाँ योजनाका लागि आर्थिक वर्ष २०७५/७६ मा कुल ७५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेट शतप्रतिशत रकम खर्च भएको महानगरपालीकाको तथ्यांकले देखाएको छ ।

 

महानगरले क्षतिपूर्ति तथा अन्य मुआव्जाका लागि २०७५/७६ सालमा ५ करोड विनियोजन गरेको थियो । सो रकम मध्ये ६१ लाख ५१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ढल निकास अन्तर्गत १३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सो आर्थिक वर्षको जेठ मसान्तसम्ममा १६ लाख रुपैयाँ बजेट खर्च भएको महानगरले जानकारी दिएको छ ।

 

यस्तै पार्क निर्माण तथा सरसफाइमा महानगरले गत आर्थिक वर्षमा ८ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो वर्ष जेठ मसान्तसम्ममा २४ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

 

क्षेत्र सडक सरसफाइका लागि ५२ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने जेठ मसान्तसम्ममा ५१ लाख ६३ हजार रुपैयाँ रकम खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि पनि यो शिर्षकमा ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आन्तरिक उडान गन्तव्य बढाउँदै निगम Read Previous

आन्तरिक उडान गन्तव्य बढाउँदै निगम

कुमारी बैंकको नाफा २८% ले बढ्दा लाभांश क्षमता कति ? Read Next

कुमारी बैंकको नाफा २८% ले बढ्दा लाभांश क्षमता कति ?