मेलम्चीको दोस्रो चरणको काम अघि बढ्दै, याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ । आयोजना निर्माणस्थलसम्म सडक निर्माण शुरु भइसकेको छ भने चालू आर्थिक वर्षमा नै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ ।

 

आयोजनाका लागि मुख्य संरचना बनाउन सडक निर्माण गर्न आवश्यक रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ । मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ ।

 

त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ । उनले भने, ‘दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।’

 

सो सडकमा तीन पुल निर्माण गर्नुपर्नेमा जगको काम भइरहेको प्रवक्ता पन्तले बताए। शुरुमा पुल बजारदेखि रातोमाटेसम्म ५ किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ । धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो ।

 

याङ्ग्री नदीको ‘हेडबक्स’ बनाउने ठाउँमा नै याङ्ग्री र इन्द्रावती नदीको दोभान रहेको छ । सो ठाउँसम्म सडक निर्माण भइरहेको छ । उनले भने, ‘सडक बनेपछि त्यहाँका तीन पालिकालाई आवतजावत सजिलो हुनेछ ।’

 

२५ किमी सडक निर्माण चालू आवभित्रै सकाउने लक्ष्य राखेपनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तले बताए । निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन भएपनि मुआब्जा र क्षतिपूर्ति विवादका कारण काम गर्न नसकेको उनले जानकारी दिए । सो सडक निर्माणका लागि मुआब्जाबापत स्थानीयवासीलाई १५ करोड वितरण गर्नुपर्ने छ । त्योमध्ये ६ करोड ५० लाख मात्रै वितरण भएको छ । उनले भने, ‘आधाभन्दा धेरैले अहिले पनि मुआब्जा लिन आउनुभएको छैन, यसले निर्माणमा समेत असर गरेको छ ।’

 

मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यसका लागि सम्बन्धित गाउँपालिकाको सहमति आवश्यक पर्छ ।

 

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका गरी तीन तहले त्यसमा सहमति दिइनसकेको प्रवक्ता पन्तले बताए । तीनै पालिकाले आयोजना शुरु गर्दा विभिन्न माग गरिरहेका छन् । सडकलगायतका संरचना निर्माणका लागि स्थानीयवासीले गरेको माग उनीहरुसँगकै समन्वयमा अघि बढाइने उनले बताए। प्रतिवेदन तयार भइसकेकाले सम्बन्धित पालिकाले सहमति दिएपछि नै वातावरण मन्त्रालयलाई सहमतिपत्र बुझाइनेछ । उनले भने, ‘ती कुरालाई सम्बोधन गर्नका लागि नै पूर्वाधार निर्माणका लागिसमेत बजेट छुट्टाइएको छ ।’

 

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

 

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता पन्तले बताए। एशियाली विकास बैंक (एडीबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उनले जानकारी दिए ।

 

एडीबीले सो पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालू आवमा ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।

 

सरकारले पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको आयोजना निर्माणका लागिसमेत तयारी अघि बढाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ । आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न नसकिने भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण काममा बाधा पुगेकाले पुसमा सकिनुपर्ने भए पनि ‘हेडबक्स’ चैतसम्ममा सम्पन्न हुने देखिएको छ ।

गोदावरीमा ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७५ प्रतिशत काम सम्पन्न Read Previous

गोदावरीमा ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७५ प्रतिशत काम सम्पन्न

एचआइडीसीएलले सेयरधनीलाई लाभांश नदिने, पुस २९ गते बोलायो साधरण सभा Read Next

एचआइडीसीएलले सेयरधनीलाई लाभांश नदिने, पुस २९ गते बोलायो साधरण सभा