गोदावरीमा ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७५ प्रतिशत काम सम्पन्न

काठमाडौं । ललितपुरको गोदावरीमा निर्माणाधीन ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम धमाधम भइरहेको छ ।

 

कारोना, कामदार अभाव लगायत कारणले यस अघि सम्मेलन केन्द्र निर्माण सुस्त भए पनि अहिले तीव्र गतिमा काम भइरहेको आयोजनाका इन्जिनीयर देवेन्द्र खनालले बताए ।

 

उनका अनुसार आयोजना अन्तर्गत हालसम्म ७५ प्रतिशत हाराहारीमा काम सम्पन्न भइसकेको छ । कोरोनका कारण बीचमा केही सुस्त भए पनि अहिले निरन्तर काम भइरहेको उनले बताए ।

 

एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न मिल्ने मुलुककै पहिलो सम्मेलन केन्द्र हुनेछ । सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ३ तले भवन निर्माण भइरहेको छ ।

 

कोभिड १९ का कारण अझै काममा सबै मजदुर तथा जनशक्ति आउन नसकेको उनको भनाइ छ । ‘कोभिड अघि दैनिक ३०० देखि ४०० सयको हाराहारीमा जनशक्तिले काम गर्थे । अहिले दैनिक २६० बढी कामदारले काम गरिरहेका छन्,’ उनले भने, ‘अब थप कामदार थपि जतिसक्दो चाँडो काम सम्पन्न गर्ने तयारीमा छौं ।’

 

सम्झौता अनुसार आगामी फागुनसम्ममा निर्माण सम्पन्न भइसक्नु पर्ने भए पनि त्यसमा केही ढिलाइ हुने उनको भनाइ छ । ‘तोकिएको मितिमै काम सक्ने गरी काम गरिएको भए पनि कोरोना, कामदार अभाव लगायत कारणले आयोजना केही पर धकेलिने देखिएको छ ,’ उनले भने ।

 

पछिल्लो समय नगरपालिकाले ढल बनाउने क्रममा हरिसिद्धि बाटो भत्केको हुँदा फिनिसिङ सामग्री ल्याउन अवरोध भएको आयोजनाका इन्जिनीयर खनाल बताउछन् । सो सामग्रीहरु वैकल्पीक मार्गबाट ल्याउनु पर्दा ठूला सवारी ल्याउन समस्या भएको उनले बताए ।

 

‘नगरपालिकाले बाटोमा ढल हाल्दै छ, त्यसले गर्दा बाटो बिग्रेर गाडीमा सामान ल्याउन सकेको छैन,’ इन्जिनीयर खनालले चाणक्य पोष्टसँग भने ।उनले बिहान बेलुका चिसोले गर्दा धेरै समय काम हुन नसकेको जानकारी दिए ।

 

वित्तिय तर्फ ४२ प्रतिशत प्रगति भएको छ ।यस्तै लक डाउनको समयमा ७ प्रतिशत मात्र काम भएको थियो । स्ट्रकचरको आरसिसि काम सकिसकेको छ । हाल ट्रसको काम भइरहेको छ ।

 

फिनिसिङ, टाइल, प्लास्टर, ग्रेनाइड लगाउने काम अझै भइरहेको छ । हाल आयोजनाले फागुन महिनाभित्र काम पुरा गर्ने भनिरहे पनि समयमा सम्पन्न नहुने देखिएको छ ।

 

फिनिसिका सामग्री ल्याउन सडकका कारण अवरोध सृजना भएकाले काममा ढिलाई हुन सक्ने इन्जिनीयर खनालले बताए ।अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा, सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि २०७६ भदौ ४ र कात्तिक २० मा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयका आधारमा ५ महिनाभित्र हल निर्माणका लागि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

 

यस सम्मेलन केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भइराखेको छ । सम्मेलन केन्द्रका लागि सरकारले ७२ करोडभन्दा बढी बजेट लागत अनुमान गरेको थियो । पछि ठेक्का लगाउँदा ५८ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको हो ।

 

केसी सामान्तर जेभीले निर्माण गरिराखेको छ । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहने छ ।यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण हुन लागेको हो ।

 

सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको हुनेछ, जसमा आवश्यकता अनुसारको शौचालयको व्यवस्थासमेत गरिएको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण हुनेछ ।

पुनर्बीमा कम्पनीलाई उछिन्दै नबिल बैंक बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी Read Previous

पुनर्बीमा कम्पनीलाई उछिन्दै नबिल बैंक बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी

मेलम्चीको दोस्रो चरणको काम अघि बढ्दै, याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने Read Next

मेलम्चीको दोस्रो चरणको काम अघि बढ्दै, याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने