काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई लाभांश बिनै पुस २९ गते साधरण सभा डाकेको हो । कम्पनीको साधरणसभा बुधबार कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा हुनेछ ।
कम्पनीले सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म लाभांश बाँड्न नपाउने व्यवस्था अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई नगद र बोनस कुनै लाभांश नबाँड्ने भएको हो ।
यद्यपि आर्थिक वर्ष २०७६/७७ को साधारण सभाबाट भने कम्पनीले सेयरधनीलाई लाभांश बाँड्न सक्नेछ । तर, त्यसबारे कम्पनीले केही जानकारी गराएको छैन ।
कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायत प्रस्ताव एजेन्डाको रुपमा लैजाँदै छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ। सो अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।