निजी क्षेत्रको हालसम्मकै ठूलो लाप्चा खोला जलविद्युतमा लगानी जुट्यो, ९ बैंकको साढे १९ अर्ब लगानी

सांकेतिक तस्वीर

काठमाडौं । दोलखामा आयोजनास्थल रहेको कूल १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि स्रोत जुटेको छ ।

 

निजी क्षेत्रबाट लगानी हुन लागेको हालसम्मकै ठूलो आयोजनामा नेपालको व्यावसायिक घराना दुगड समूहले लगानी गर्न लागेको हो ।

 

आयोजना निर्माणमा लागि दुगड समूहले नाशा हाइड्रोपावर प्रालिमार्फत काम अगाडि बढाएको छ । आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको छ ।

 

आयोजनामा कुल २६ अर्ब २० करोड लगानी हुनेछ । आयोजनामा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको अगुवाइमा विभिन्न ९ बैंक तथा वित्तीय संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

 

सहवित्तीयकरण गरेर उनीहरुले १९ अर्ब ६५ करोड लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा आज हस्ताक्षर गरेका हुन् । सम्झौतामा लगानीकर्ता रहेको नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

 

आयोजनामा नेपाल बैंकले रु पाँच अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाडौँले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाख लगानी गर्ने भएका छन् ।

 

नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले साथ दिएकामा खुसी व्यक्त गरे । उनका अनुसार २०७९ साउनसम्ममा सो आयोजनाले व्यापारिक रुपमा विद्युत् उत्पादन शुरु गर्नेछ ।

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक Read Previous

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

पुनर्बीमा कम्पनीले बोलायो साधरण सभा, सेयरधनीलाई लाभांश नदिने Read Next

पुनर्बीमा कम्पनीले बोलायो साधरण सभा, सेयरधनीलाई लाभांश नदिने