काठमाडौं । रुपन्देहीको भैरहवा नेपालको नयाँ औद्योगिक क्षेत्रको रूपमा विकास हुँदै जान थालेको छ । केही समययता उक्त क्षेत्रमा औद्योगिक गतिविधि बढ्दै जान थालेको उद्योगी व्यवसायीहरू बताउँछन् ।
भारतसँग कनेक्टीभिटी राम्रो भएको, पश्चिम नेपालका ठूला सहरसँग सहजै पहुँच हुनु, सहजै श्रमिक पाउनु लगायत कारणले उद्योगीहरू यो क्षेत्रमा उद्योग लगाउन उत्साहित हुने गरेको देखिएको छ ।
भारतसँग कनेक्टीभिटी राम्रो भएको, पश्चिम नेपालका ठूला सहरसँग सहजै पहुँच हुनु, सहजै श्रमिक पाउनु लगायत कारणले उद्योगीहरू यो क्षेत्रमा उद्योग लगाउन उत्साहित हुने गरेको देखिएको छ ।
भैरहवा क्षेत्रमा सिमेन्ट, स्टिल, जुत्ता–चप्पल लगायत उद्योग चलाइरहेका उद्योगी राजेश अग्रवालका अनुसार भैरहवामा पछिल्लो समय औद्योगिक गतिविधि बढ्दै गइरहेको छ । ‘दिल्ली, हरियाणा, राजस्थान लगायत भारतीय सहरबाट यो ठाउँ पाएक पर्ने हुनाले उद्योगीहरूको लागि उद्योग चलाउन यो ठाउँ उपयुक्त छ । यहाँको सामाजिक माहौल पनि राम्रो छ,’ अग्रवालले भने ।
तर उपयुक्त क्षेत्र भएपनि संभावना अनुसारको विकास भने अझै हुन नसकेको अग्रवालको बुझाइ छ । ‘यहाँ पूर्वाधारको भने अपेक्षकृत विकास हुन सकेको छैन । त्यसैले १०० को स्पिडमा हिँड्नु पर्ने गाडी ६० को स्पिडमा हिँडेको जस्तो भएको छ,’ अग्रवालले भने ।
भैरहवा क्षेत्रमा विभिन्न उद्योग चलाइरहेका उद्योगि पशुपति मुरारका पनि भारतसँगको राम्रो कनेक्टिभिटीका कारण यो क्षेत्रमा राम्रो औद्योगिक विकास भइरहेको बताउँछन् । उनको बुझाइमा यो क्षेत्रबाट पश्चिम नेपालमा राम्रो पहुँच बनाउन सकिन्छ । ‘यहाँको श्रम सम्बन्ध पनि राम्रो छ,’ उनले भने ।
यद्यपि, हुन सक्ने जति विकास भने अझै नभएको मुरारका पनि स्वीकार्छन् । आकाशिँदै गएको जग्गाको मूल्य, पर्याप्त बिजुली उपलब्ध नहुनु, भन्सारमा भौतिक संरचनाको निर्माण नहुनु र सुक्खा बन्दरगाह नहुनुका कारण यहाँको औद्योगिक विकासले संभावना अनुरुप गति लिन नसकेको उनको बुझाइ छ ।
मुरारकाले संकेत गरेका समस्याहरूको समस्या समाधान गर्नका लागि भैरहवामा विशेष आर्थिक क्षेत्रको (सेज) पनि निर्माण भइसकेको छ । तर, विशेष आर्थिक क्षेत्रमा निर्यात उद्योग चलाउन उद्योगीहरू अझै आकर्षित भने हुन सकेका छैनन् ।
अहिले भैरहवा सेजमा ३ वटा उद्योगले निर्यात उद्योग चलाइरहेका छन् । ६८ वटा मध्ये अहिले १८ वटा उद्योग सञ्चालनमा आउनु पर्नेमा कोभिडको कारण उद्योग सञ्चालनमा ढिलाइ भएको भैरहवा सेजका इन्जिनियर अर्जुन पाण्डेले बताए ।
हाल २ वटा उद्योग निर्माणाधीन रहेको सेजमा पछिल्लो समय ‘मुभमेन्ट’ भने बढेको पाण्डेको भनाइ छ । ‘सेजको ऐन संशोधन भइसकेको भएपनि नियमावली संशोधन नभएका कारण अपेक्षाकृत उद्योगहरू नआएका हुन् । नियमावलीको संशोधन पनि सेजमा पनि औद्योगिक गतिविधि बढ्ने देखिन्छ,’ पाण्डेले भने ।