काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये हालसम्म सिभिल बैंक बाहेक अन्य सबै बैंकले लाभांश घोषणा गरेका छन् ।लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् ।
कोरोनका कारण खुद मुनाफा घटेसँगै अधिकांश बैंकहरुले अघिल्लो वर्षको तुलनामा लाभांश पनि घटाएका छन् । यद्यपि, कोरोनाका बीच बैंकहरुले आफ्नो क्षमता अनुसार सेयरधनीलाई लाभांश दिएर दिएर निराश भने पारेका छैनन् ।
औसतमा बैंकहरुले १४.३३ प्रतिशत लाभांश दिएका छन् ।गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाधांश दिने बैंक नबिल रहेको छ भने सेञ्चुरी सबैभन्दा कम लाभांश दिने बैंक बनेको छ ।
धेरै लाभांश दिनेमा नबिल सधैं अगाडि
गत आवबाट लाभांश घोषणा गरेका २५ बैंकहरुमध्ये नबिल बैंकले आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । विगत वर्षहरुमा पनि सबैभन्दा धेरै लाभांश दिँदै आएको नबिलले यस वर्ष पनि सबैभन्दा धेरै लाभांश घोषणा गरेर आफ्नो शाख कायमै राखेको छ ।

नबिलले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ नगद गरी कुल ३५.२६ लाभांश घोषणा गरेको छ ।
यस्तै, एनआइसी एशिया बैंक र हिमालयन बैंक सबैभन्दा धेरै लाभांश दिनेमा दोस्रो स्थानमा रहेका छन् । यी दुवै बैंकले समान २०/२० प्रतिशत लाभांश दिएका छन् ।
जसमा एनआइसीले १९ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित १ प्रतिशत नगद र हिमालयनले १४ प्रतिशत बोनस र ६ प्रतिशत लाभांश दिएका छन् ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत, एनएमबी १६.२० प्रतिशत, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू र नेपाल बैंकले समान १६र१६ प्रतिशत लाभांश घोषणा गरेका छन् । ग्लोबलले १४ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद, बैंक आफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद र नेपालले १२ बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।
त्यस्तै, ११ बैंकले १० देखि १५ प्रतिशतको बीचमा लाभांश घोषणा गरेका छन् भने ४ बैंकले १० प्रतिशत भन्दा कम लाभांश घोषणा गरेका छन् ।
१० प्रतिशत भन्दा कम लाभांश घोषणा गर्नेमा नेपाल एसबीआइ, नेपाल बंगलादेश, सनराइज र सेञ्चुरी कमर्शियल बैंक रहेका छन् । गत वर्षको नाफाबाट सबैभन्दा कम सेञ्चुरी कमर्शियल बैंकले ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकहरुको वार्षिक साधरण सभाले स्वीकृति गरेपछि सेयरधनीले पाउनेछन् । सेयरधनीलाई लाभांश वितरण गर्न सानिमा र माछापुच्छ्रेले भने साधरण सभाको मितिसमेत तोकिसकेका छन् ।
६ बैंकको लाभांश पारित
बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकहरुको वार्षिक साधरण सभाले स्वीकृति गरेपछि सेयरधनीले पाउनेछन् । केही बैंकले भने साधरण सभा सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् ।

हालसम्म सानिमा, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, एनआइसी एशिया, कुमारी र सिटिजन्स बैंकले साधरण सभा सम्पन्न गरी सेयरधनीलाई दिने लाभांश समेत पारित गरिसकेको छन् ।
१८ बैंकको सेयर किन्नेले अझै लाभांश पाउने
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये १८ बैंकको सेयर किन्नेले अझै लाभांश पाउने छ । लाभांश घोषणा गर्नेमध्ये ६ बैंकले साधरण सभा सम्पन्न नै गरीसकेका छन् भने एक बैंकको बुकक्लोज भइसकेको छ ।
सानिमा, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, एनआइसी एशिया, कुमारी, सिटिजन्स र सनराइजको बुकक्लोज भइसकेकाले अब यी बैंकको सेयर किन्ने लाभांश पाउँदैनन् ।
यी बाहेका बाँकी रहेका सबै बैंकको सेयर किन्नले अझै लाभांश पाउने छन् । जसमा हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल बंगलादेश र प्रभु बैंकले साधरण सभा र बुकक्लोज दुवैको मिति तोकेको छन् भने बाँकी १२ बैंकले अहिलेसम्म साधरणसभाको मिति पनि तोकेका छैनन ।