माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युतको उत्पादन १ महिनाभित्र शुरु हुने

म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

 

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ ।

 

निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए। ‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ,’ उनले भने ‘बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ ।’

 

बाँधको यसअघिनै परीक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत्गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए ।

 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको २ हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरिएको छ ।

 

नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । विद्युत्गृह नजिकै स्विचार्ड निर्माण भएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ । ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्म १ हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

 

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । ‘कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ,’ उनले भने ‘पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौँ ।’ ५ अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले १ अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् ।

 

यसैगरी नबील बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी गरेका छन् ।

 

आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई ७ लाख ३ हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जेनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो ।

 

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।

 

अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । दाना र खुर्कोटमा सवस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए।

 

टावर ठड्याउने, तार तान्ने र सवस्टेशनको उपकरण जडान सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको पनि परीक्षण शुरु गर्न लागिएको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ३५३.८ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।

 

३४६.०३ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरेको छ । ८३.५ मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा रहेको विभागले जनाएको छ ।

प्राविधिक अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पछि धकेलिँदै, चिनियाँ जनशक्ति ल्याइँदै Read Previous

प्राविधिक अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पछि धकेलिँदै, चिनियाँ जनशक्ति ल्याइँदै

एनएमबी बैंकद्वारा अघिल्लो वर्षकोभन्दा १८ प्रतिशत कम लाभांश घोषणा, बोनस र नगद कति Read Next

एनएमबी बैंकद्वारा अघिल्लो वर्षकोभन्दा १८ प्रतिशत कम लाभांश घोषणा, बोनस र नगद कति