प्राविधिक अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पछि धकेलिँदै, चिनियाँ जनशक्ति ल्याइँदै

काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माण लगभग सकिए पनि प्राविधिक काम हुन नसक्दा आयोजना पछि धकेलिने देखिएको छ ।

 

सन् २०२१ जुलाइसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि विमानस्थलको उपकरणहरू जडान गर्ने लगायत काम गर्ने प्राविधिक अभावमा समयमै काम सकिनेमा अन्योलता देखिएको हो ।

 

उपकरण जडान गर्ने दक्ष जनशक्ति चीनबाट आउनु पर्ने भएपनि कोरोनाका कारण समयमै कामदार नआउँदा आयोजनाको काम अघि बढ्न नसकेको हो ।आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार अहिले फिनिसिङ, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्रि सडकका कामहरू भइरहेको छ ।

 

सन् २०२१ जुलाइसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि विमानस्थलको उपकरणहरू जडान गर्ने लगायत प्राविधिक काम गर्ने जनशक्ति नहुँदा  समयमै काम सकिनेमा अन्योलता देखिएको हो ।

 

‘विमानस्थलको भौतिक पूर्वाधार निर्माणका बाँकी रहेको काम नेपाली र चिनियाँ कामदारले गरिरहे पनि उपकरण जडान गर्ने प्राविधिक काम गर्ने कामदार अभाव छ,’ उनले भने, ‘जतिसक्दो चाँडो प्राविधिक ल्याएर काम अगाडि बढाउने प्रयास भइरहेको छ । कामदार आएपछि काम तीव्र गतिमा अगाडि बढ्नेछ ।’

 

हाल आयोजनामा १०० जना चिनियाँ कर्मचारीहरूले काम गरिरहेका छन् । थप १५८ जनशक्ति ल्याउन सरकारले स्वीकृति दिइसकेको छ । सो जनशक्ति मध्ये ७० जनाका हाराहारीमा कोभिडको खोप लगाएर आउने तयारीमा रहेका छन् । बाँकी पनि त्यसै गरी कोभिड खोप लगाएर आउने उनले बताए । उनले आगामी फेब्रअरीसम्म सबै चिनियाँ जनशक्ति आइसक्ने बताए । सो जनशक्ति आएपछि कामले तीव्रता लिने उनको भनाइ छ ।

 

‘चीनबाट बाँकी जनशक्ति आउने क्रममा छन्, नेपाली मजदूरहरू पनि आउने क्रममा छन्, जेनवरी/फेब्रअरीबाट विमानस्थल निर्माणको कामले तीव्र गति लिने छ,’ मुनाकर्मीले चाणक्य पोष्टसँग भने ‘फुल फेजमा काम गर्न थालियो भने ६ देखि ७ महिनामा निर्माण पूरा हुन्छ ।’ उनले निर्माणमा आवश्यक पर्ने सामग्रीहरू धेरै जसो आइसकेको र केही अझै आउन बाँकी रहेको बताए ।

 

हालसम्म आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बाँकी ३२ प्रतिशत काममा १४ प्रतिशत सिभिलका काम रहेका छन् भने अन्य १८ प्रतिशत काम इक्यूपमेन्टको बाँकी रहेको छ ।

 

आयोजनाको कामले गति पाउन करिब ३ सय हाराहारीमा चिनियाँ कर्मचारीले काम गर्नु पर्ने छ भने २ सय हाराहारी गरी ५०० हाराहारीको जनशक्तिले काम गरे समयमै सकिने छ । हालसम्म आयोजना निर्माणका क्रममा ५०.२७ प्रतिशत वित्तिय प्रगति भइसकेको छ ।

 

सरकारले लकडाउन खुल्ला गरे नेपालमा बढेको कोभिडका कारण चिनियाँ कर्मचारीहरू आउन मानेका थिएनन् । चीनमा भ्याक्सीन लगाउन शुरू भए पछि भने उनीहरू भ्याक्सीन लगाएर काम गर्न आउन तयार भएका हुन् ।

 

गत वर्ष चिनियाँ नयाँ वर्ष मनाउन गएका कर्मचारीहरू कोभिड १९ शुरू भएपछि नेपाल फर्किन नपाएका हुन् । विमानस्थलको धेरै जसो काम चिनियाँ कर्मचारीले गर्नुपर्ने हुँदा निर्माणले गति लिन नसकेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको छ । लकडाउनका समयमा समेत निरन्तर निर्माण कार्य भइरहेको पोखरा अन्तर्राष्टिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

 

हाल पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माणले लक्ष्य अनुसार गति लिन सकेको छैन । चालू आर्थिक वर्षको मंसिरसम्मा आयोजना अन्तर्गत जम्मा ७ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

चैत्र १० गतेदेखि नै लकडाउनमा बसेर थोरै जनशक्तिले काम गरिरहेको भएता पनि चिनियाँ दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा उनीहरूको अनुपस्थिती बीना आयोजनाले गति लिन नसकेको हो ।

 

‘काम एक दिन पनि रोकिएको छैन तर, दक्ष जनशक्ति नभएकाले कामले सोचेजति गति लिन सकेको छैन,’ आयोजना प्रमुख मुनकर्मीले भने । आयोजनाको काम समयमै सम्पन्न गर्न काम गर्ने समय २ देखि ३ सिफ्ट थपे मात्र पूरा हुने उनको भनाइ छ ।

 

‘छ महिना अघि निर्माण पूरा गरेर हस्तान्त्रण गर्ने सोचेका थियाँै, कोभिडका कारण अब तोकिएकै समयमा सक्ने प्रयास गरिरहेका छौँ,’ मुनाकर्मीले भने ‘ कर्मचारी थप गरेर २ देखि ३ सिफ्टमा काम गर्यो भने तोकिएकै समयमा काम सक्न सकिन्छ ।’

 

पोखरा विमानस्थल निर्माण सम्पन्न गर्न अब ७ महिनाका हाराहारीमा समय बाँकी रहेको छ । आयोजना निर्माणका क्रमा हालसम्म ७ अर्ब रुपैयाँ हाराहारीमा खर्च भएको छ । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।

 

विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको छ । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि शुरू भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

 

पोखरा अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तराष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।

त्रिभुवन विमानस्थलमा ३ वर्षमा व्यापक सुधार, २२ वटा जहाज अट्ने पार्किङ बनाइँदैछ Read Previous

त्रिभुवन विमानस्थलमा ३ वर्षमा व्यापक सुधार, २२ वटा जहाज अट्ने पार्किङ बनाइँदैछ

माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युतको उत्पादन १ महिनाभित्र शुरु हुने Read Next

माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युतको उत्पादन १ महिनाभित्र शुरु हुने