त्रिभुवन विमानस्थलमा ३ वर्षमा व्यापक सुधार, २२ वटा जहाज अट्ने पार्किङ बनाइँदैछ

काठमाडौं । अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् ।

 

पछिल्लो ३ वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी दक्ष जनशक्तिमार्फत अन्तरराष्ट्रिय मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिने गरी विमानस्थलको निरन्तर सुदृढीकरणको काम चलिरहेको हो ।

 

विमानस्थलको ३ हजार ५० मिटर लम्बाई र ४६ मिटर चौडाई थियो । सोही आयोजनाअन्तर्गत पछिल्लो पटक थप ३०० मिटर धावनमार्ग विस्तारको काम पनि सकिएको छ ।

 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको विसं २०७४ फागुनदेखि २०७७ मङ्सिरसम्मको प्रगति विरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग प्रचलित आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग गरी धावनमार्ग जीर्णोद्धार (रनवे रिह्याबिलिटेसन)गर्ने कार्य तोकिएको समयावधिभन्दा ५ महिनाअगावै सम्पन्न भएको थियो । अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सेवा सञ्चालनका लािग खुला गरिएको छ ।

 

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत विमानस्थल जीर्णोद्वार गरिएको हो । चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले विमानस्थलको जीर्णोद्वार गरेको थियो । मूल्य अभिवृद्धि करसहित ४अर्ब २७ करोडमा निर्माण सम्झौता भएको जीर्णोद्वार जीर्णोद्धारको पहिलो चरणमा  विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएको थियो ।

 

विमानस्थलको ३ हजार ५० मिटर लम्बाई र ४६ मिटर चौडाई थियो । सोही आयोजनाअन्तर्गत पछिल्लो पटक थप ३०० मिटर धावनमार्ग विस्तारको काम पनि सकिएको छ ।

 

विमानस्थलमा थप चार वटा ठूला र दुई साना जेट विमान बिसान हुनसक्ने क्षमताको एप्रोन निर्माण गरिएको छ । यससँगै अन्तरराष्ट्रिय पार्किङ वे सङ्ख्या रिमोट पार्किङसहित १५ पुगेको छ । ‘रनवे जिरोटू’ तर्फ ‘रनवे इन्ड सेफ्टी’ एरिया बनाउन कार्य पनि सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ प्रस्थान कक्ष (स्टेराइल हल) को निर्माण भई सञ्चालनमा आएको छ । अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ब्यागेज ह्याण्डलिङ सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको छ । यसबाट आन्तरिक उडानका हवाई यात्रुको सरसामन लिन सहज भएको छ । अन्तरराष्ट्रियतर्फ टर्मिलन भवनमा सेन्ट्रल एयर कण्डिसन सिस्टम जडान गरिएको छ ।

 

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीका अनुसार अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थावित गुरुयोजनाअन्तर्गत स्तरोन्नतिका थप कार्य थमाधम भइरहेको छ । मौजुदा विमानस्थलको नयाँ अन्तरराष्ट्रिय र आन्तरिक टर्मिलन भवन बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढेको छ ।

 

हालको विमानस्थलको जहाज तथा यात्रु मुभमेन्टका आधारमा सन् २०२८ सम्मको गुरुयोजनाको अवधारणमा सुधारको काम थालिएको आयोजना भण्डारीले बताए ।

 

सन् २००९ र सन् २०१६ मा विमानस्थलको पुनःअपडेट गरिएको थियो । हरेक पाँच/पाँच वर्षमा गुरुयोजना अपग्रेट गरिन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा जहाजको उडान सङ्ख्या र यात्रु सङ्ख्याका आधारमा ५ वर्ष र अर्को ५ वर्षको गुरुयोजना बनाएर स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ ।

 

विमानस्थलको धावनमार्गको समानान्तर ट्याक्सी वे निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाइएको छ । विमानस्थलको उत्तरतर्फ साना ठूलागरी २२ वटा जहाज राख्न मिल्ने गरी पार्किङ बनाइँदैछ । विमानस्थलको पूर्वतर्फ गोठाटार परिसरमा ह्याङ्गर एरिया बनाउने पनि योजना रहेको छ ।

 

अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक अवधारणाअनुसार सौन्दर्यीकरण तथा साजसज्जाको कार्य अगाडि बढाइएको छ । अन्तरराष्ट्रिय आगमन कक्षको टर्मिलन भवनमा सिलिकन पेन्टिङ गरिएको छ ।

 

बुटिक अवधारणाअनुरुप विमानस्थलमा अन्तरराष्ट्रिय तथा आन्तरिक टर्मिलन भवनभित्र सुधार कार्य र क्यानोपी स्ट्रक्चर को निर्माणकार्य सञ्चालन रहेको छ ।

 

नेपालमा विगत १० वर्षमा हवाई यात्रु आवागमन दुई गुणाभन्दाबढी रहेको छ । सन् २०१८ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा करिब ७२ लाख हवाई यात्रु आवागमन भएको थियो । सो विमानस्थलको अधिकतम क्षमता बढीमा ९० लाख रहेको देखिन्छ । हवाई यात्रु वृद्धिदर यही कायम भए यो सङ्ख्या सन् २०२२ मा पुगिसक्ने विज्ञको अनुमान छ ।

 

हाल विमास्थलको क्षमता अधिकतम विन्दुमा पुगिसकेको र हाल निर्माणाधीन भैरहवा तथा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल लिमिटेशनमा छन् । त्यसैले अन्तरराष्ट्रिय मापदण्डयुक्त बारामा प्रस्थावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, निजगढ अन्तरराष्ट्रिय विमानस्थल शीघ्र निर्माणको कुनै विकल्प देखिन्छ ।

 

क्यानको पछिल्लो तथ्याङकअनुसार सन् २०२० को नौ महिनाको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको छ । सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४।६ प्रतिशत बढी थियो । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत हो ।

इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति

प्राविधिक अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पछि धकेलिँदै, चिनियाँ जनशक्ति ल्याइँदै Read Next

प्राविधिक अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पछि धकेलिँदै, चिनियाँ जनशक्ति ल्याइँदै