काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.५० प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ०.५० प्रतिशत मात्र कम हो । बैंकले अघिल्लो आवमा १०.५० प्रतिशत बोनस र ८.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।