उपत्यकाका ५ सडक अन्तिम चरणमा, ४ सडक ठेकेदारले बनाए अलपत्र, कुनको अवस्था कस्तो

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत ९ सडक आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । सोमध्ये ५ आयोजना अन्तिम चरणमा रहेका छन् । अन्य ४ आयोजनाहरू विभिन्न समस्याका कारण अघि बढ्न सकेका छैनन् ।

 

ठेकेदारको बदमासी, स्थानीयको अवरोध, जग्ग विवाद, कोभिड १९ लगायतका कारण कारण लामो समयदेखि अलपत्र परेका ती सडकहरूको यथास्थितिमै भए पनि अगाडि बढाएर चालू आवमै सक्ने गरी काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ ।

 

उपत्यका सडक विस्तार आयोजना अन्तर्गत ४ वटा सडक आयोजनाहरू निर्माणमा ढिलाइ भइरहेको छ । सो आयोजनाहरू कोभिड १९ तथा नदीजन्य निर्माण सामग्रीमा (ढुंगा, गिट्टी, बालुवा, बेस, सब–बेस) अभाव भएका कारण लक्ष्य अनुरुप काम हुन नसकेको आयोजनाका सूचना अधिकारी यादव बताउँछन् ।

 

ठेकेदारको बदमासी, स्थानीयको अवरोध, जग्ग विवाद, कोभिड १९ लगायतका कारण कारण लामो समयदेखि अलपत्र परेका ती सडकहरूको यथास्थितिमै भए पनि अगाडि बढाएर चालू आवमै सक्ने गरी काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ ।

 

‘अहिले ढुंगा, बालुवा अभाव भएका कारण पनि केही समस्या सृजना भएको छ, स्थानीयको अवरोध पहिलेदेखिनै थियो, सक्दो यही आर्थिक वर्ष भित्र सक्ने हाम्रो लक्ष्य हो,’ यादवले चाणक्य पोष्टसँग भने ।

 

हाल उपत्यका विस्तार आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा रहेका कतिपय योजनाहरू अदालतबाट स्टे अडरका कारण अघि बढ्न सकेको छैन ।

 

सम्पन्न हुने तयारीमा रहेका सडकहरू

 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्मा ९० प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । ३ वटै ठेक्कामा ९० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

 

७० करोड लगानीमा विस्तार हुन लागेको सो आयोजनामा हालसमम ९२ करोड रुपैयाँ खर्च भइसकेको विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले जानकारी दिए ।

 

११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

 

त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट शुरू हुने गरी सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने तयारी भए पनि कोभिड १९ का कारण चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने राखिएको छ ।

 

चाबहिल–जोरपाटी–साँखु सडक

 

यस सडक आयोजना अन्तर्गत ८० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डमा ४ ठेक्कामा काम भइरहेको छ । यस अन्तर्गत ६५ प्रतिशतदेखि ८० प्रतिशत हाराहारीमा सडक विस्तारको काम सम्पन्न भएको यादवले बताए ।उनले चाबहिल चोक बाहेकका अन्य स्थानमा चालू आर्थिक वर्षभित्र विस्तार सम्पन्न गरी कालोपत्र गरिने बताए ।

चाबहिल–साँखु सडकखण्ड २०७२ असोज १३ गतेबाट निर्माण शुरू हुने गरी सम्झौता भएको थियो । आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेका छन् । झण्डै ४ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ । बाँकी रहेका काम यथास्थितीमा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यादवले बताए ।

 

इमाडोल–सिद्धिपुर–गोदावरी–लामाटार सडक

 

यस आयोजना अन्तर्गत हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको उपत्यका विस्तार आयोजनाले जनाएको छ ।

 

३ ठेक्कामा विभाजन गरी भइरहेको यस आयोजना अन्तर्गत स्थानीय वासिन्दाहरूबाट घर जग्गा मुआब्जा तथा क्षतिपूर्ती माग गर्दै घर टहरा भत्काउन दिएका छैनन् । विद्युतका पोल, रुख हटाउन नदिएका कारण यस ण्डमा धेरै भौतिक प्रगति देखिन नसकेको यादवले बताए ।

 

उनका अनुसार यस आयोजनामा हालसम्म ७० करोड रुपैयाँ बढी खर्च भइसकेको छ । यस आयोजनाका लागि ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ८ किलोमिटर लम्बाइ रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड २०७७/७८ भित्र सक्ने लक्ष्य रहेको छ ।

 

उक्त खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको थियो । चालू आवमा लामाटारमा समेत ३०/३५ वटा घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने योजनाले जनाएको छ ।

 

लगनखेल–सातदोबाटो सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । अन्तिम चरणमा रहेको सो आयोजना अबको केही महिनामै सम्पन्न हुने उनको भनाइ छ ।

५ करोड ७३ लाख रुपैयाँ लगानीमा विस्तार भइरहेको यस आयोजनामा हालसम्म ५ करोड ४२ लाख रुपैयाँ खर्च भइसकेको छ । यो आयोजना २०७३ जेठ २६ गतेबाट शुरू गरिएको थियो । २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने भनिएको यस आयोजनाको केही काम कोभिडका कारण रोकिएको थियो ।

 

 

नख्खु खोला–भैंसेपाटी–बुंमती सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ६५ देखि ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक सिमा क्लियर गर्ने काम नहुँदा कार्य प्रभावित भएको यादवले बताए । उनले यस खण्डमा केही स्थानीयहरूले विद्युतका पोल, टेलिफोनका पोल र रुखहरू हटाउन नदिएको जानकारी दिए ।

 

यस आयोजना अन्तर्गत ५६ कारोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हालसम्म ३१ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ । २०७३/७४ मा शुरू भएको यस आयोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रगति हुन नसकेका चार आयोजना

 

ढोलाहिटी–चापागाउँ–लेले सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ५० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको शुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मिटर को सट्टा १७.२० मिटर नै गर्न स्थानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार गर्न नगरपालिकाबाट समेत पत्रचार भएता पनि मापदण्ड घटाइ निर्माण गर्न नसकिने भएको हो ।

सर्वोच्च अदालको स्टेअडरका कारण घर हटाउन नसकिएको यादव बताउँछन् । उनले घर टहरा हटाउने प्रयास गर्दा स्थानीयहरूले अवरोध सृजना गरेको हुँदा काम अघि बढ्न नसकेको बताए ।

 

२०७३/७४ मा शुरू भएको यस आयोजना हालसम्म ५० प्रतिशतका हाराहारीमा मात्र पूरा भएको छ । यस आयोजनामा १ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस आयोजनामा हालसम्म ४१ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । उनले यस आयोजना यथास्थितीमा भए पनि यही आवभित्र पूरा गरिने बताए ।

 

कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी सडक 

 

यस सडक आयोजना अन्तर्गत हालसम्म २५ देखि ५५ प्रतिशत भौतिक प्रगति भएको छ । २ ठेक्कामा अघि बढी रहेको यस आयोजनाले साढे ७ किलोमिटर सडक विस्तार गरिँदै छ । २०७३÷७४ मा शुरू भएको यस आयोजनामा हालसम्म प्रगति देखिन सकेको छैन ।

 

सर्वोच्च अदालतले स्टे अडर जारी गरेका कारण १२० घर हटाउन सकिएको छैन । सो खण्डमा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

आयोजना अन्तर्गत ६७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म २० करोड ४६ लाख रुपैयाँ खर्च भइसकेको छ । सो खण्डमा हिमपाइप हाल्दै सडक मिलाउने काम तीव्र गतिमा भइरहेको छ । साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

 

पेप्सीकोला–सल्लाघारी सडक 

 

यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । स्थानीयले जग्गा समेतको मुआब्जा माग्न थाले पछि निर्माण कार्य अघि नबढेको यादवले बताए ।

उनले उक्त सडकको बाहखा बजार भन्दा अगाडि घरहरू भत्काउनु पर्नेमा स्थानीय वासिन्दाहरूको अवरोधका कारण उपत्यका विकास प्राधिकरणले साइट क्लियर गर्न नसक्दा हाल सो खण्डमा कुनै काम अघि बढ्न नसकेको बताए ।

 

साढे ४ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको छ । ४९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको यस आयोजनामा हालसम्म १७ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

जोरपाटी–सुन्दरीजल सडक 

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ४० देखि ५५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण चालू आवभित्र सम्पन्न गर्ने यादव बताउँछन् ।

 

उनले स्थिानीयको विवादका कारण रो सिमाङकनमा ढिलाई भएको हुँदा हाल मात्र काम शुरू गरिएको बताए । घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोद सृजना गरेपछि सो खण्डमा यथास्थीतीमा सडक कालोपत्र गरिने भएको हो ।

 

केही खाली स्थानमा काम शुरू गरिए पनि जग्गाको समेत मुआब्जा माग्दै स्थानीयले अदालतमा मुद्दा हालेपछि सो मुद्दा विचाराधीन रहेको हुँदा कामले गति लिन नसकेको यादवले बताए ।

 

२०७३ असारमा शुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको छैन । निर्माणधीन ठेकेदारले म्याद थपका लागि निवेदन पेस गरेको उनले जानकारी दिए ।

 

 

किन आन्दोलन गरिरहेछन् उखु किसान, यस्तो छ भित्री कुरो Read Previous

किन आन्दोलन गरिरहेछन् उखु किसान, यस्तो छ भित्री कुरो

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस Read Next

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस