किन आन्दोलन गरिरहेछन् उखु किसान, यस्तो छ भित्री कुरो

काठमाडौं। आफूले बेचेको उखु वापतको रकम भुक्तानी हुनुपर्ने माग गर्दै तराईका विभिन्न जिल्लाका उखु किसानहरु एक वर्षभित्रै दोस्रोपटक राजधानी काठमाडौँको माइतीघरमा आन्दोलन गरिरहेका छन् । गत कात्तिक २३ गते काठमाडौं आएका उनीहरुले छठ (मंसिर ५) सम्ममा चिनी मिलमा वक्यौता रहेको रकम दिलाइदिन सरकारसँग माग गरेका थिए । तर उक्त माग पूरा नभएपछि गत मंसिर २६ गतेदेखि उनीहरु आन्दोलनरत छन् ।

 

तराईका रौतहट, सर्लाही, नवलपरासी, बारा लगायतका जिल्लाका १ लाख विगाहभन्दा बढी जग्गामा २० हजार किसान उखु खेती गर्छन् । त्यसबाट उत्पादित करीब १ लाख ८० हजार मेट्रिक टन उखुले मुलुकको झण्डै ७० प्रतिशत माग धानेको छ । मंसिरमा उत्पादन हुने उखु चिनी मिलले पुसदेखि चैतसम्ममा प्रशोधन गर्छन् भने यसको मूल्य सरकारले तोक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने र बढ्दो आयात कम गर्न महत्वपूर्ण भूमिका खेल्ने चिनी उद्योग किन बारम्बार विरोध प्रदर्शनको तारो बनिरहेको छ ? चिनी मिलले समयमा किसानलाई भुक्तानी नदिनुको कारण के हो ? किन उखु किसान हरेक वर्ष आन्दोलन गर्न वाध्य भएका छन् ?

 

सर्वहाराका लागि लड्ने भनिएको कम्युनिष्ट सरकारले किसानलाई बुझ्न नसकेको समितिका संरक्षक मिश्र बताउँछन् । उनका अनुसार उखु मिलमा प्रशोधन भएको एक सातामै त्यो चिनी बन्छ र बजारमा जान्छ । तर चिनी मिलका मालिकले रिकभरी (उखुबाट चिनी बन्ने मात्रा) कम अर्थात् ८ प्रतिशत मात्र आयो भनेर भुक्तानी पछि सार्छन्

 

एक वर्ष अघिको सम्झौतामा के थियो ?

२०७६ साल पुस १८ गते काठमाडौंमा आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयबीच सम्झौता भएपछि त्यसबेला उखु किसानको आन्दोलन रोकिएको थियो । सम्झौतामा सरकारले निर्धारण गरेको उखुको मुल्य बमोजिम सम्पूर्ण बक्यौता रकम उद्योगीहरुले २०७६ सालको माघ ७ गतेभित्र तिरिसक्नुपर्ने उल्लेख थियो । उक्त सम्झौतामा उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने र त्यसले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता थिए । गत २०७७ साल बैशाखमै उक्त कार्यदलले प्रतिवेदन बुझाएको र हाल त्यो कार्यान्वयनको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

यस पटक फेरि किन भयो आन्दोलन ?

उक्त सम्झौतापछि उखु मिलले कुल ९० करोड रुपैयाँ बक्यौता रकममध्ये करीब ३५ करोड भुक्तानी गरेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रर्ले बताए । ‘हाम्रा दुइटा माग छन् । मन्त्रालयले यो मितिसम्ममा रकम भुक्तानी हुनेछ भनेर समयसीमा तोकोस् । या सरकारले प्रधानमन्त्री राहत कोषबाट रकम झिकी हामीलाई भुक्तानी देओस् र पछि त्यो रकम उद्योगीबाट उठाओस्,’ उनले भने ।

 

गत वर्षको चैत महिनामै आन्दोलन गर्न काठमाडौं आएका उखु किसानहरु लकडाउनका कारण घर फर्किएका थिए । ६ वर्ष अघिदेखिको उनीहरुको रकमको भुक्तानी चिनी मिलहरुले हालसम्म नगरेको उनीहरुको आरोप छ । काठमाडौंमा कानुन विषय पढिरहेका सर्लाहीको एक उखु किसान परिवारका सदस्य आशुतोष झाले १०–१५ दिन भित्रै भुक्तानी गर्नुपर्नेमा चिनी मिलले १०–१५ वर्ष कुराएको भन्दै आक्रोश व्यक्त गरे ।

 

‘सबै किसानको आफ्नै खेत छैन । त्यसैले उसको पनि लगानी हो । घर धान्ने, छोराछोरी पढाउने त्यही पैसाले हो,’ उनले भने, ‘कतिचोटी वार्तामा जाने ? आश्वासन मात्रै दिन्छन् । आश्वासन मात्रैले त पेट भर्ने हैन । जबसम्म सरकारले रकम भुक्तानी गर्दैन, तबसम्म आन्दोलन जारी रहन्छ ।’

 

‘समस्याको जड सरकार नै हो । ब्यापारीको साँठगाँठ सरकारसँग छ,’ झाले भने, ‘चिनी मिलका मालिकसँग सरकारका मानिसको मिलेमतो छ । उनीहरुले चाहे अनुसारको नियम लागु भएको छ ।’

 

सरकारको प्रतिक्रिया के छ ?

गत मंसिर २९ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले उखु उद्योगीसँग छलफल गरेपछि आन्दोलनरत किसानलाई वार्तामा आउन पत्र लेखेको थियो । वाणिज्य मन्त्रालयले गृह मन्त्रालयसँग बैठक गरी बक्यौता नतिर्ने उद्योगीलाई आवश्यक कार्बाहीको प्रक्रिया अघि बढाएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन् । उनले ४ वटा उखु मिल घाटामा गई बन्द भएको र केहीले किसानका खातामा रकम हाल्न थालेको बताइन् ।

 

‘अब सरकार कडा रुपमा प्रस्तुत भएको छ । पहिलाजस्तो नहोला,’ उनले भनिन् । कतिपय किसानको बैंक खाता नभएकाले पैसा भुक्तानी नभएको उनको भनाइ थियो । तर मन्त्रालयको यो भनाइसँग आन्दोलनरत किसान सहमत छैनन् । ‘यो सरकारको बहानावाजी मात्र हो । किसानको खाता छैन भने परिवारको सदस्यकोमा पनि त पठाउन सकिन्छ,’ मिश्रले भने ।

 

 

समस्याको चुरो कहाँ छ ?

हामीले कुरा गरेका कतिपयले समस्या किसानको बक्यौता रकमको मात्र नभएको जिकिर गरे । उनीहरुका अनुसार यसको अन्तर्यमा राजनीतिकर्मी–ब्यापारी बीचको साँठगाँठ छ ।

 

‘समस्याको जड सरकार नै हो । ब्यापारीको साँठगाँठ सरकारसँग छ,’ झाले भने, ‘चिनी मिलका मालिकसँग सरकारका मानिसको मिलेमतो छ । उनीहरुले चाहे अनुसारको नियम लागु भएको छ ।’

 

गत वर्ष नयाँ पत्रिकामा प्रकाशित एक समाचार अनुसार महालक्ष्मी सुगर्सका सञ्चालक वीरेन्द्र कनोडिया प्रदेश ५ का नेपाली कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।

 

नेपालका एक अर्थ राजनीतिक विश्लेषक हरि रोकाले निजी क्षेत्रका मुठ्ठीभर ब्यापारीले कार्टेलिङ गर्नाले र सरकारी उद्योग धराशायी बनाइएकोले यो समस्या उत्पन्न भएको बताए । ‘वीरगञ्ज चिनी कारखाना खोलेपछि त्यसको सफलता देखेर निजी क्षेत्रका ब्यापारीले चिनी उद्योगमा हात हाले । उनीहरु त्यो सरकारी कारखाना बन्द गराउन लागि परे र त्यो बन्द पनि भयो,’ उनले भने, ‘तर उनीहरुका हातमा पुगेपछि (यस उद्योगमा) मोनोपोली भयो ।’

 

रोकाका अनुसार भारतबाट सस्तो मुल्यमा चिनी खरिद गरिएपछि नेपाली किसानको उखु खेर जाने र उनीहरुले आफ्नो उत्पादन बेच्न विन्ति गर्नुपर्ने स्थिति आयो । सरकारी कारखाना चलिरहेको भए यस्तो अवस्था सिर्जना नहुने रोका बताउँछन् । ‘मिललाई पोहोर साल नै तिर भनेको हो सरकारले । तर उनीहरुले बक्यौता तिरेनन् । सरकार पनि किसान उठेर आउने बेला मात्र ताकेता गरेजस्तो गर्छ ।’

 

सर्वहाराका लागि लड्ने भनिएको कम्युनिष्ट सरकारले किसानलाई बुझ्न नसकेको समितिका संरक्षक मिश्र बताउँछन् । उनका अनुसार उखु मिलमा प्रशोधन भएको एक सातामै त्यो चिनी बन्छ र बजारमा जान्छ । तर चिनी मिलका मालिकले रिकभरी (उखुबाट चिनी बन्ने मात्रा) कम अर्थात् ८ प्रतिशत मात्र आयो भनेर भुक्तानी पछि सार्छन् । दुखजिलो गर्ने किसानलाई यो थाहा हुने कुरा पनि भएन ।

 

‘यो उद्योगबाट मिल मालिक मोटाउने, किसान दुब्लाउने हुँदै आएको छ,’ उनले भने । ‘किसानको पैसा ९ महिनासम्म मिलले चलाउँछ र त्यसबाट राजनीतिक दललाई म्यानेज गर्छ,’ उनले भने, ‘गरीब किसान गरीब नै रहन्छ ।’
साउथ एसिया चेकबाट

आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता Read Previous

आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता

उपत्यकाका ५ सडक अन्तिम चरणमा, ४ सडक ठेकेदारले बनाए अलपत्र, कुनको अवस्था कस्तो Read Next

उपत्यकाका ५ सडक अन्तिम चरणमा, ४ सडक ठेकेदारले बनाए अलपत्र, कुनको अवस्था कस्तो