प्रभु लाइफको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति जनाले भरे ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले सोमबारदेखि विक्रीमा ल्याएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ भने पुस २ गते (आज) अन्तिम दिन हो ।

 

यो सर्वसाधारको लागि विक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ४.४ गुणा बढी आवेदन हो । निष्काशित कुल ६० लाख कित्तामध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ भने ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबारसम्म ८ लाख ७३ हजार ७९ जनाले १ अर्ब ८६ करोड रुपैयाँ बराबरको २ करोड ३७ लाख ७६ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् ।

 

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आवेदन दिन सक्नेछन् ।

 

हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

 

प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ५ लाख ४० आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ।

 

तर, ५ लाख ४० हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

कोरोनापछि कृषिमा लगानी बढ्दै, यस्ता छन् नयाँ खुल्दै गरेका कम्पनी Read Previous

कोरोनापछि कृषिमा लगानी बढ्दै, यस्ता छन् नयाँ खुल्दै गरेका कम्पनी

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Next

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति