काठमाडौं । कोभिडका कारण सबै जसो व्यापार व्यवसाय थलिइरहेको बेला कृषितर्फ भने सानादेखि ठूला उद्योगपतिहरूको चासो बढेको छ ।
कृषि क्षेत्रमा पछिल्लो समय लगानी बढिरहेको कृषि विकास बैंकका प्रवक्ता हिमाल पौडेल बताउँछन् । विगतको तुलनामा कोभिडका कारण ऋण लिनेको संख्या केही कम भएको भए पनि कृषि क्षेत्रमा कर्जा खोज्नेहरू बढेको उनले बताए ।
चालू आर्थिक वर्षको ५ महिनामा व्यावसायीक कृषि गर्न स्वदेशी लगानीका ११ र विदेशी लगानीको एक गरी १२ उद्योग दर्ता भएका छन् । ती उद्योग सञ्चालनका लागि ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
‘विगतको तुलना गर्ने हो भने अहिले कर्जाको माग कम हो तर, कोभिडका समयमा पनि कृषितर्फ लगानीका लागि ऋण लिएर भाडामा जग्गा लिने, विदेशबाट फर्केर कृषिमा लाग्न खोज्ने धेरै आएका छन्,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार सरकारले मल, बीउ र बजारको राम्रो व्यवस्था गरे कृषि क्षेत्रमा अझै आकर्षण बढ्न सक्ने उनले बताए । उनले मल, बीउ र बजारीकरणको व्यवस्थाले कृषि क्षेत्रमा लगानी सुरक्षित हुने बताए ।
यस्तै उद्योग विभागको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको ५ महिना (साउन–मंसिर) मा ९० नयाँ उद्योग दर्ता भएको छ । सो मध्ये कृषि क्षेत्रमा ११ नयाँ उद्योगहरू आन्तरिक लगानीमा सञ्चालनका लागि दर्ता भएका छन् । कृषि क्षेत्रमा २ अर्ब ९० करोड रुपैयाँ लगानीमा सो उद्योगहरू सञ्चालनमा आउने तयारी भएको हो । यी उद्योगहरू सञ्चालनमा आएपछि १ हजार ३९५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
वैदेशिक लगानीतर्फ कृषि क्षेत्रमा यो ५ महिनामा एउटा उद्योगका लागि मात्र लगानी प्रतिवद्धता आएको छ । उक्त उद्योग सञ्चालनका लागि ३५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । यो उद्योग सञ्चालनमा आएपछि ८० जनाले रोजगारी पाउने बताइएको छ । यो लगानी प्रतिवद्धता चीनबाट आएको हो ।
चीनले मकवानपुरमा मासु उत्पादन तथा प्रसोधन केन्द्र सञ्चालन गर्न लागेको हो । सो उद्योगले ६ सय मेट्रिकटन राँगाको मासु उत्पादन गर्ने छ ।
पोल्ट्री व्यवसायमा आकर्षण बढ्दो
आन्तरिक लगानीतर्फ कुखुरा फार्ममा लगानी बढेको देखिन्छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा ग्लोबल बर्ड कम्पनी नामक कुखुरा फार्म सञ्चालनमा ल्याउने तयारी भएको छ । उक्त फार्म २३ करोड ३ लाख रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा ल्याउन लागेको हो ।
सो उद्योगले कुखुराका चल्ला तथा अण्डा लगायतका उत्पादन गर्ने छ । उद्योग सञ्चालनपछि त्यहाँ ५९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । यस उद्योगले वर्षेनी २५ लाख १६ हजार कुखुराका चल्ला उत्पादन गर्ने छ भने, १ लाख ५५ हजार अन्डा उत्पादन गर्ने छ ।
यस्तै, धनुषाको धनुषाधाममा १ अर्ब ४ करोड २० लाख लगानीमा जनकपुर एग्रो फार्म सञ्चालनमा आउने भएको छ । उक्त उद्योगले वर्षेनी १२ करोड ९४ लाख वटा अण्डा उत्पादन गर्ने छ । साथै, एग्रो फर्मले वर्षिक २ लाख ५० हजार कुखुरा उत्पादन गर्ने छ । उक्त उद्योगले वर्र्षेनी ८७ लाख २० हजार केजी मल उत्पादन गर्ने छ । यस उद्योगले सञ्चालनपछि ३५० जनालाई रोजगार दिने छ ।
त्यसैगरी, नवलपरासी जिल्लाको कावासोतीमा आशिर्वाद एग्रो फिड्स सञ्चालनमा आउने भएको छ । २४ करोड ७० लाख रुपैयाँ लगानीमा आउन लागेको दाना उद्योगलाई केहि समयअघि उद्योग विभागमा दर्ता गरिएको छ । उक्त उद्योगले वर्षेनी २० हजार मेट्रिकटन दाना उत्पादन गर्ने छ । उद्योगले सञ्चालनपछि ४१ जनालाई रोजगार दिने जनाएको छ ।
ललितपुरमा ‘दि अर्गानीक भ्याली’ सञ्चालनमा ल्याइने भएको छ । २ करोड लगानीमा सो उद्योग सञ्चालन गर्न लागिएको हो । उक्त उद्योगले वर्षेनी सुख्खा अधुवा ४० मेट्रिकटन, बेसार १५ मेट्रिकटन लगायतका कृषि सामग्री उत्पादन गर्ने छ ।
सुनसरीको बुर्जु गाउँपालिकामा ‘अरिहन्त एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आउने भएको छ । २२ करोड रुपैयाँ लगानीमा उक्त सेन्टर सञ्चालनमा आउन लागेको हो । उक्त फार्मले हरियो तरिकारी, फलफूल लगायतका अन्य कृषि सामग्रीहरू उत्पादन गर्ने छ । यस उद्योगले २६४ लाई रोजगार दिने जनाएको छ ।
यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा शोभा एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालनमा आउने भएको छ । उक्त उद्योग १५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको हो । उद्योग संचालनमा आएपछि वार्षिक ६ सय मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगले ओखर, बोजो, गुर्जो लगायतका जडिबुटी उत्पादन गर्ने छ । उक्त उद्योगले २६४ जनालाई रोजगार दिने जनाएको छ ।