सेयर कर्जामा कडाइ, यस्ता कम्पनीको सेयर धितो राखेर ऋण लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षालाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जामा कडाइ गरेको हो ।

 

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले पछिल्लो ३ वर्षदेखि लगातारमा नोक्सानीमा रहेका, व्यवसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष पूरा नभएका, विगत ३ वर्षदेखि साधरणसभा नगरेका, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएको संस्थाहरुको सेयर धितोमा कर्जा प्रवाह गर्न नपाउने भएका छन् ।

 

यस्तै, बैंकहरुले धितोको रुपमा लिने संस्थाको मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, पीबी भ्यालु, लाभांश इल्ड, लाभांश अनुपात जस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

 

राष्ट्र बैंकका अनुसार समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पूँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, सूचीकरणबाट हटाइएका संस्थाहरु तथा आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको सेयर धितोमा कर्जा दिन पाउने छैनन् ।

 

यद्यपि, राष्ट्र बैंकलेसेयर धितो मूल्यांकन र त्यसको आधारमा दिन मिल्ने कर्जा सीमामा भने कुनै परिवर्तन भएको छैन । यस वर्षको मौद्रिक नीतिले सेयर धितो मूल्यांकन गर्दा पछिल्लो १२० दिनको कारोबारको औसत मूल्यमा ७० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था गरेको थियो ।

बैंकका ऋणीलाई राहत, असार मसान्तसम्म कालोसूचीमा राख्न नपाइने Read Previous

बैंकका ऋणीलाई राहत, असार मसान्तसम्म कालोसूचीमा राख्न नपाइने

कोरोनापछि कृषिमा लगानी बढ्दै, यस्ता छन् नयाँ खुल्दै गरेका कम्पनी Read Next

कोरोनापछि कृषिमा लगानी बढ्दै, यस्ता छन् नयाँ खुल्दै गरेका कम्पनी