बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै

लमजुङ । लमजुङ जिल्लाको बेंसिशहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

 

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ । आयोजनाको इन्जिनीयर आशिष शर्माले बेंसिशहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने बताए । भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारसम्म पाइपलाइन मार्फत वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम शुरु गरिएको हो ।

 

‘आयोजनाका मुख्य मुख्य कामहरु सबै सकिएको छ,’ इन्जिनीयर शर्माले भने, ‘बजार क्षेत्रमा पाईप लाईन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्र (पिच) हुने कार्य भइरहेको छ । पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४ सै घण्टा खानेपानी वितरण गर्ने तयारी भईरहेको उनले बताए। उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

 

बेंसिशहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए ।

 

बेंसिशहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पुर्याउने योजना सहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिए। झाले खानेपानी मन्त्री बिना मगरबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको सुनाए ।

 

यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाइ छ ।

एनआइबीएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता खोल्दिने Read Previous

एनआइबीएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता खोल्दिने

लिखु खोला हाइड्रोपावरको साढे ६२ लाख कित्ता आइपीओ आउँदै, प्रत्याभूतिकर्ता नियुक्त Read Next

लिखु खोला हाइड्रोपावरको साढे ६२ लाख कित्ता आइपीओ आउँदै, प्रत्याभूतिकर्ता नियुक्त