काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यस साताको शुरुका दुई दिनमै करिब १०२ अंकले बढेको बजारमा आज करिब ६ अंकको करेक्शन आएको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब १ अर्ब १४ करोड रुपैयाँले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४२ विन्दुमा आइपुगेको छ । यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५९.५९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ११५.१३ अंकले घटेको छ ।
आज कारोबार भएका कुल २०५ कम्पनी मध्ये ६० कम्पनीको मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्य घटेको छ । २५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज पनि लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीले दुई वर्षको लाभांश दिन बाँकी रहेकाले राम्रै लाभांश दिने आँकलन गर्दै लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् ।
कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३६ करोड र नेपाल बैंक २२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
क्षेत्रगत रुपमा आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् । घट्दो बजारमा पनि करिब आधादर्जन माइक्रोफाइनान्स कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य, गुँरास, महुली सामुदायिक, ग्लोबल आइएमई, एनएमबी माइक्रोफाइनान्स र नारायणी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.७६ प्रतिशतले गुमाएका छन् ।