सुन्दरीजलमा थप एउटा पानी प्रशोधन केन्द्र निर्माण गरिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ ।

 

अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

 

एशियाली विकास बैंक (एडीबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उनले जानकारी दिए । एडीबीले सो पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालू आवमा ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, ‘यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।’

 

सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए। आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ ।

 

पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ । सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५.५ करोड लिटरबनाउन सकिन्छ । उनले भने, ‘अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्को एउटा पनि २५.५ करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।’

 

आयोजना अन्तर्गत सुरुङ, हेडवर्क्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे ८ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एडीबीको आर्थिक सहयोगमा भएकोे थियो । सुरुङ, हेडवर्क्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेका छन् ।

कर्जाको माग ह्वात्तै बढ्यो, ३ सातामै ५१ अर्ब लगानी Read Previous

कर्जाको माग ह्वात्तै बढ्यो, ३ सातामै ५१ अर्ब लगानी

माउन्टेन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार Read Next

माउन्टेन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार