काठमाडौं । दशैं, तिहार जस्ता मुख्य चाडवाड सकिएसँगै बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ । कोरोना कहर जारी रहे पनि पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढ्दै गएको हो ।
पछिल्लो ३ सातामा मात्रै वाणिज्य बैंकहरुले ५१ अर्ब ऋण लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार मंसिर ५ गतेदेखि २६ गतेको अवधिमा बैंकहरुले उक्त रकम कर्जा लगानी गरेका हुन् ।
मंसिर २६ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३१ खर्ब १ अर्ब कर्जा विस्तार गरेका छन् भने मंसिर ५ गतेसम्म बैंकहरुले ३० खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
बैंकिङ प्रणालीमा अहिले अधिक तरलता कायम रहेकाले बैंकहरुले निक्षेप संकलनलाई खासै प्राथमिकता दिएका छैनन् । पछिल्लो ३ सातामा ५१ अर्ब कर्जा लगानीगर्दा बैंकहरुले ३८ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । बैंकहरुले मंसिर २६ मा ३६ खर्ब ९४ अर्ब निक्षेप संकलन गरेका छन् । जबकी मंसिर ५ सम्म ३६ खर्ब ५६ अर्ब निक्षेप संकलन गरेका थिए ।
अधिक तरलता भएपछि राष्ट्र बैैंकले पछिल्लो समय ५० अर्ब रुपैयाँ तरलता खिचेको छ भने अझै सवा खर्बभन्दा बढी तरलता रहेको जनाइएको छ ।