काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका क्रममा सुरुङ खन्नेकाम पुस दोस्रो साताबाट शुरू हुने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माणका लागि आवश्यक पर्ने स्टिल पोर्टल फ्रेम समेत आइसकेको हो ।
आयोजनाका म्यानेजर नरेशमान शाक्यका अनुसार सबै निर्माण सामग्री तयार भइसकेकाले पुस दोस्रो साताबाट सुरुङ खन्न शुरू गरिने छ । पूर्वतर्फ सुरुङ निर्माणका लागि पूर्वतयारीको काम भइरहेको छ भने सो तयारी पश्चात् स्टिल पोर्टल राखेर सुरुङ खन्न शुरू गरिने उनले बताए । जमिन कम्जोर रहेका स्थानमा स्टिल पोर्ट राखेर सुरुङ खन्ने काम गरिने छ ।
मेशिनले खन्नु अघि आवश्यक तयारीका लागि २५ देखि ३० मिटर सुरुङ खन्नु पर्ने भएकाले त्यो काम शुरू भइसकेको छ । सुरुङको पूर्वतर्फ सिस्नेखोला मुखमा जमिन कम्जोर भएकोले त्यहाँ बलियो बनाउने काम भइरहेको छ ।
उनले हाल अप्रोच राख्ने काम हुनुका साथै जमिनलाई बलियो बनाएर सुरुङ खन्न तयारी भइरहेको बताए । पूर्वतर्फ सुरुङ खन्न थालिएको केहीसमयमै पश्चिमतर्फ पनि सुरुङ शुरू गरिने उनको भनाइ छ । ‘सुरुङ खन्ने अन्तिम तयारीमा छौं, स्टिल पोर्ट आइसकेको छ, ढिलोमा पुसको दोस्रो हप्तासम्मा सुरुङ खन्न थालिनो छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
मेशिनले खन्नु अघि आवश्यक तयारीका लागि २५ देखि ३० मिटर सुरुङ खन्नु पर्ने भएकाले त्यो काम शुरू भइसकेको छ । सुरुङको पूर्वतर्फ सिस्नेखोला मुखमा जमिन कम्जोर भएकोले त्यहाँ बलियो बनाउने काम भइरहेको छ । सो जमिनमा खनेर ढलान गरी सुरुङ खन्नलाई बलियो बनाइने छ ।
८ मिटर मुनिबाट जमिन कम्जोर पाइए पछि सुरुङ खन्न केही ढिलाइ हुने भएको हो । सरदर सुरुङ खन्नका लागि २५ देखि ५० मिटर भित्रबाट खन्दा त्यो बलियो हुने भए पनि पश्चिम तर्फको सुरुङको मुखैमा जमिन कम्जोर भेटिएको हो ।
उक्त स्थानमा ड्रिल गरेर सुरुङ खन्दा आफै अडिने गरी जमिनलाई बलियो बनाउनु पर्ने छ । तलबाट खन्दा माथि भासिने अवस्थाको माटो भएकाले त्यसलाई सिमेन्ट राखेर पूर्ण बलियो जमिनमा ढाल्नु पर्ने उनको भनाइ छ ।
सुरुङमार्ग निर्माणमा चन्द्रागिरीवासीको अवरोध
नागढुंगा सुरुङमार्ग निर्माणमाका क्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले चन्द्रागिरी नगरपालिकाको जमिन मिचिने र टनेलका कारण खाने पानी तथा सिँचाइको समस्या हुने भएको भन्दै अवरोध जनाएका छन् ।
उनले चन्द्रगिरी नगरपालिका वडा नम्बर २ ले नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा अधिकाशं जमिन चन्द्रागिरी २ मा पर्ने भन्दै केही मागहरू राखिएको बताए ।

सो मागमा पानीको मुहानको व्यवस्था गर्नुपर्ने, साथै सिँचाइको समेत व्यवस्था गर्न माग गरिएको उनले बताए । उनले खाने पानी र सिँचाइमा समस्या भएको खण्डमा आयोजनाले खानेपानी निशुल्क व्यवस्था गर्नु पर्ने र सिँचाइको समेत व्यवस्था गर्न माग राखेको छ ।
यस्तै, सुरुङ बनाएको जमिन माथि मिलेसम्मा घर तथा सपिङमार्ग बनाउन दिनु पर्ने अथवा नमिलेको खण्डमा आयोजनाले त्यसको क्षतिपूर्ती दिनु पर्ने उनीहरूको माग रहेको छ ।
हाल सुरुङ बन्ने स्थान चन्द्रागिरी वडा २ को पकेट एरिया रहेको भन्दै उनले सो क्षेत्रमा बन्ने भौतिक पूर्वाधार समेत आयोजनाले बनाइदिनु पर्ने माग राखेका छन् । भौतिक पूर्वाधार विकासका क्रमा फुटबल ग्राउड, ६/७ किलोमिटर सुरुङ सँगैको सडक आयोजना आफैले बनाइदिनु पर्ने माग गरिएको छ ।
सुरुङमार्ग आफ्नो क्षेत्रमा बन्ने भएकाले सो निर्माणका क्रममा चाहिने दक्ष कामदार समेत चन्द्रागिरी नगरपालिकाबाटै राखिनु पर्ने उनले बताए । ‘हाम्रो क्षेत्रमासुरुङमार्ग बन्न लागेको छ, यहाँ किन बाहिरबाट कामदार ल्याएर काम गर्ने हाम्रै दक्ष कामदारहरू रहेका छन्, उनीहरूकालागि रोजगार सृजना गर्नु पर्यो नी,’ वडाध्यक्ष सुर्खेतीले भने ।
यस्तै आयोजना म्यानेजर शाक्यले चन्द्रगिरीनगरपालिका वडा २ को मागलाई समर्थन गरिएको बताए । उनले आयोजना आफैले पूरा गर्न सक्ने मागहरू गर्ने र नसक्ने मागका लागि अर्थमन्त्रालयमा पठाइने बताए ।
उनले उक्त माग अनुसार काम हुनका लागि थप बजेट आवश्यक पर्ने बताए । ‘उहाँहरूको सबै मागका विषयमा छलफल भइसकेको छ, हामीले सक्ने आफै गर्ने छौं नसकेको अर्थमन्त्रालयलाई दिने छौँ,’ वडाध्यक्ष शाक्यले भने ।
११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी
भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी रहेको छ । अधिग्रहणका लागि जमिन मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फ र धादिङ तर्फ अधिग्रहणको काम सकिसकेको छ ।
सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।
सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुने विभागले जनाएको छ ।
मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।
सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ ।आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।
गत वर्ष कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन । आर्थिक वर्ष २०७६/७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको थियो । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको थियो ।
गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।