काठमाडौं। कोरोना महामारीको प्रभावबाट विश्व अर्थतन्त्र बिस्तारै बाहिर निस्कन लागेसँगै विश्व बजारमा स्टिलको मूल्यमा व्यापक बृद्धि हुन थालेको छ । महामारीको समयमा बन्द रहेका धेरै स्टिल मिलहरु अहिले खुल्न थालिसकेका छन् ।
अहिले चीनमा स्टिलको माग अत्यन्तै उच्च रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाँकी विश्व पनि खराब दोस्रो र तेस्रो त्रैमासबाट बाहिर आउँदै गरेको उनीहरुले उल्लेख गरेका छन् । विज्ञहरु विश्वको सबै क्षेत्रमा स्टिलको माग र मूल्य अझै केही समय बढ्दै जाने बताउँछन् ।
स्टिलको सबैभन्दा ठूलो माग हुने र कोरोना महामारीबाट सबैभन्दा चाँडै बाहिर निस्केको चीनमा उत्पादन क्षेत्रमा प्रयोग हुने स्टिलको मूल्य ३७ प्रतिशतले बढेको छ ।
विश्व बजारमा मूल्य वृद्धि भएसँगै नेपालमा समेत स्टिलको मूल्य चुलिएको छ । जगदम्बा स्टिलका अनन्द नेपालका अनुसार विश्व बजारमै स्टिलको मूल्य बढेसँगै छिमेकी मुलुक भारत र चिनमा पनि कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ । आयातित कच्चा पदार्थको मूल्य २० देखि ३० प्रतिशतका हाराहारीमा वृद्धि भएपछि नेपालमा समेत उत्पादित स्टिलको मूल्यमा स्वत वृद्धि भएको उनको भनाई छ ।
हामीले स्टिल बनाउन कच्चा पदार्थ सबै भारतबाट आयात गर्नु पर्छ । भारतमा अपुग भए भारतले पनि चीन बाट ल्याउने हो । अहिले भारतमै स्टिल अपुग हुँदा उसले हामीलाई किन सस्तो मूल्यमा देओस् ?
युरोप र अमेरिकामा पनि विगत केही हप्तायता स्टिलको मूल्यमा भारी बृद्धि भएको छ ।
विश्वभरी नै औद्योगिक उत्पादन बढ्न थालेसँगै स्टिलको माग उच्च भएको र मूल्य आकाशिएको विभिन्न अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले गरेको अध्ययनले देखाएको छ । विशेषगरी अहिले अटो क्षेत्रमा स्टिलको माग उच्च रहेको रिपोर्टहरुले देखाएका छन् ।
तर, माग र मूल्य उच्च रहेपनि उत्पादक कम्पनीहरुको नाफा भने खासै नबढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कच्चा पदार्थको मूल्य उच्च रहेका कारण कम्पनीहरुको नाफामा खासै बढोत्तरी नभएको हो ।
भारतमा पनि स्टिलको मूल्य कोरोना महामारी भन्दा अघिको भन्दा पनि बढि पुगेको छ । अटो र श्वेत वस्तुको क्षेत्र आफ्नो लयमा फर्किदैं गर्दा भारतमा स्टिलको मूल्य महामारी अघिको ४२ हजार प्रति टन भन्दा पनि उच्च हुन पुगेको हो ।
भारतीय स्टिल कम्पनीहरुले स्टिलको मूल्य प्रति टन २ हजार भारुले बढाएका छन् । भारतमा स्टिलको मूल्य लगातार ४ महिनायता बढिरहेको छ । जुलाइ महिनायता भारतमा स्टिलको मूल्य ७ हजार देखि ७ हजार ५ सय टनसम्म बढेको छ ।
नेपाल स्टिल उत्पादन सम्बन्धी कच्चा पदार्थको आयातमा पूर्णरुपमा भारत तर्फ परनिर्भर रहेका कारण भारतमा कच्चा पदार्थको मूल्य वृद्धिको नेपालमा ठूलो असर पर्ने गरेको नेपालले बताए ।
‘हामीले स्टिल बनाउन कच्चा पदार्थ सबै भारतबाट आयात गर्नु पर्छ । भारतमा अपुग भए भारतले पनि चीन बाट ल्याउने हो । अहिले भारतमै स्टिल अपुग हुँदा उसले हामीलाई किन सस्तो मूल्यमा देओस् ?,’ नेपालले चाणक्यपोष्टसँग भने ।
उनले विश्व बजारमा कोभिड संकट कालमा बन्न नसकेका पूर्वाधारहरु निर्माण धमाधम सुचारु हुन थालेकाले माग बढेको तर उत्पादन कम भएकाले यसको मूल्य आकाशिएको बताए । हाल चीन र भारतमा विकासका कामहरु बढि भइरहेकाले यस्तो भएको हुन सक्ने उनले बताए ।
हाल विदेशी बजारमा विगतमा ३ सय देखि ४ सय डलर रहेको स्टिलको मूल्य ५ सय डलर पुगेको छ । नेपालमा ८० देखि ८२ रुपैयाँ पर्ने स्टिल अहिले ९० रुपैयाँ बढि पुगेको छ ।
उनले उद्योगीहरुले कृतिम मूल्य वृद्धि गर्नसक्ने वातावरण नभएको भन्दै खपत बढ्दै गए अझै केही बढ्न सक्ने बताए ।
‘यो सिजनमा विकासका कामहरु धेरै हुन्छन् । नेपालमा मात्र हैन विश्वमै धेरै ठाउँमा विकास भौतिक पूर्वाधार निर्माणका काम हुने भएकाले मूल्य विृद्धि भएको हो । खपत बढेपछि मुल्य बढ्नु स्वभाविक मानिन्छ,’ नेपालले भने ।
।