नुवाकोट दरबारसँगै निर्माण भएको लोभलाग्दो जिपलाइन र होटल सहितको नयाँ गन्तब्य

नुवाकोट । नुवाकोटको सबैभन्दा ठूलो पर्यटकिय गन्तव्य ‘नुवाकोट दरबार’ २०७२ सालको भुकम्पले थलापरेको छ । अहिले दरबार क्षेत्र जाने पर्यटकको संख्या अत्यन्त न्यून रहेको यहाँ सुरक्षामा खटिएका सुरक्षाकर्मी बताउँछन् ।

दरबारको पुनर्निर्माणको काम अगाडि बढाइएको छ । तर, कोभिड १९ को संक्रमणपछि यहाँ कामदार छैनन् । स्थानीयवासीका अनुसार यहाँ चिनियाँ कामदारले काम गरिरहेका थिए । कोरोना संक्रमण बढ्न थालेपछि उनिहरु गएका हुन् ।

‘चीनबाट आएका कामदारले दरबारलाई फलामको टेको लगाएर काम गर्दै थिए । कोरोना लागेपछि उनिहरु गए । अब फागुनमा आउने भन्ने सुनेका छौं’, स्थानीयवासी कृष्णलाल श्रेष्ठले भने ।

उसोत भुकम्पपछि दरबार क्षेत्रमा पर्यटकिय गतिविधि कम भएपनि निजी क्षेत्रको पहलमा नयाँ सुविधा सम्पन्न होटल र रेष्टुरेन्टसहितको जिपलाइन निर्माण भएको छ । स्थानीय युवा उद्यमीहरुको संयुक्त लगानीमा तयार भएको नयाँ जिपलाइन निर्माणमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको लगानीकर्ता मध्यको एक संजिव राईले बताए ।

उनका अनुसार जिपलाइन बाहेको अन्य पूर्वाधार धमाधम निर्माण भइरहेको छ । त्यसमा कति खर्च लाग्छ अहिले एकिन भइसकेको छैन । यहाँ एड्भेञ्चर पिङ, स्वीमिङ पुल, आकर्षक सुविधा सहितको १० रुम, ठूलो खाली भाग र विभिन्न फोटोसेसन एरिया निर्माण भइरहेका छन् ।

अहिले जिपलाइन, रेष्टुरेन्ट जस्ता संरचना संचालनमा आइसकेका छन् भने होटल, पिङ जस्ता संरचना निर्माणको अन्तिम चरण पुगेको छ । अहिले गएर जिपलाइन चढ्नेले २ हजार रुपैयाँ तिर्नु पर्ने छ । १३ सय मिटर लामो जिपलाइनको टप स्पीड १२० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

अहिलेको रफ्तारले काम हुने हो भने माघसम्ममा सबै संरचना संचालनमा आउने भन्दै राई भन्छन्, ‘हामीले आन्तरिक पर्यटनको लागि दरबार क्षेत्रमा आउनेहरुको लागि राम्रो सेवा र एड्भेञ्चर मनपराउनेको लागि उत्कृट गन्तव्य बनाउन प्रयास गरेका छौं ।’

विदुरबाट २.५ किलोमिटर माथि रहेको ‘दरबार एड्भेञ्चर जिपलाइन रिसोर्ट’ जाने बाटो पनि अहिले निकै राम्रो अवस्थामा रहेको छ । काठमाडौंबाट ७० किलोमिटरको दुरीमा रहेको यस स्थानमा बस्ती छैन । रिसोर्टबाट ५०० मिटर माथि मात्रै बस्ती रहेकाले यहाँ गएर बस्नेले जंगलको अनुभूती समेत लिन सक्ने छन् ।

जिपलाइनमा यात्रा गर्दा दरबार क्षेत्रको भ्यूको अनुभव समेत गर्न सकिने छ । यसअघि दरबार घुमेर राम्रो होटलको खोजीमा त्रिशुली वा बट्टार धाउनु पर्ने अवस्था थियो । नयाँ रिसोर्टले मनोरञ्जनको लागि जाने जो कोहिलाई लोभ्याउने निश्चित छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै, करिब १ महिना लाग्ने Read Previous

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै, करिब १ महिना लाग्ने

पेट्रोल र डिजेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य यथावत Read Next

पेट्रोल र डिजेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य यथावत