काठमाडौं । हाल उपत्यका भित्र विभिन्न स्थानमा विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ । पछिल्लो समय विद्युत प्राधिकरणले पानीपोखरी र चक्रपथ खण्डमा दुवै पट्टी जमिन खनेर विद्युत् भूमितगतको काम गरिरहेको छ ।
सो क्षेत्रमा केही दिन अघि बाटै भूमिगतको काम शुरू गरिएको विभागकी सूचना अधिकारी लिलाकुमारी अर्यालले बताइन् । उनले लाइन पास भएका स्थानमा दुवैतर्फ भत्काएर तार भूमिगत गर्ने काम भइरहेको बताइन् ।
तार भूमिगत गर्ने यो परियोजना गत वर्ष २०७६ फागुन ५ गतेदेखि शुरू गरिएको थियो । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो । नमूना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको ‘अण्डरग्राउण्ड केबलीङ’को काम पहिलो चरणमा रत्नपार्क, न्यूरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्ध सम्मका विद्युतीय तार भूमिगत गरिँदैछ ।

विद्युत प्राधिकरणले काठमाडौं उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी गरेको छ । ११ वटा वितरण केन्द्र मध्ये २ वटा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका विद्युतीय तार भूमिगतको काम भइरहेको छ ।
भक्तपुर र ललितपुरका २/२ वटा वितरण केन्द्रका विद्युतीय तार भूमिकगतका लागि ठेक्का मूल्यांकनको चरणमा रहेको छ । अन्य ५ वटा वितरण केन्द्रहरुका लागि विद्युत भूमिगत गर्न ठेक्का हस्तान्त्रण भइसकेको छ ।
कुलेश्वर, बालाजु, जोरपाटी, कोटेश्वर लगायतका विभिन्न ५ स्थामा विद्युतीय तार भूमिगत गर्न भारतीय कम्पनी लासान एण्ड टर्भो लिमिटेड कम्पनीलाई ठेक्का दिइएको हो ।
आयोजनाका प्रमुख मनोज सिल्वालका अनुसार चाबहिल– मैजुबाल खण्डमा भने विद्युतीय तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको छ । चाबहिल–मैजुबाल खण्डको ८ सय मटिर सडकमा तार भूमिगत गरिएको थियो ।

महाराजगञ्ज–बुढानीलकण्ठ–लैनचौर केन्द्रको जापानीज दूतावाससम्म खनेर पाइप हाल्ने काम भइसकेको छ । तार हाल्ने काम भने अझै पूरा हुन सकेको छैन । महाराजगञ्ज–बुढानीकलकण्ठ झण्डै साढे ७ किलोमिटर लम्बाई रहेको छ ।
हालसम्म ३०÷३५ किलोमिटर सर्किट तार हाल्ने काम भइसकेको सिल्वालले बताए । प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किलोमिटर क्षेत्रका एक लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ ।
विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एशियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन । बिजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।



