काठमाडौं । बंगलादेशबाट आयात गरिने भनेको ५० हजार मेट्रिक टन युरिया मल नआउने सम्भावना बढेको छ । पैँचो मागेर धानका लागि भदौसम्म ल्याइने भनेको मंसिरसम्म पनि ल्याउने टुंगो नभएपछि अब नआउने भएको हो ।
कृषि मन्त्रालयका सूचना अधिकारी हरिबहादुर केसीका अनुसार वार्षिक कार्यक्रमा रहेको मल आयात भइरहेकाले बंगलादेशबाट मल आयात गर्नुपर्ने आवश्यकता नरहेको हो । उनले मल हाल्ने समय सकिएकोले अब बंगलादेशबाट मल ल्याइरहन आवश्यक नभएको बताए ।
धानका लागि भनेर भदौसम्म ल्याउने गरी बंगलादेशसँग मल पैँचो मागिएको थियो । तर, बंगलादेशले पैँचो दिने आफ्नो कानुन नभएको भन्दै किनेर लैजान भनेपछि सरकारले खरिद प्रक्रिया टुंगो लगाउन नसक्दा अहिलेसम्म मल आउन नसकेको हो ।
‘धानका लागि चाहिने नै भएर, पैँचो भए पनि मल ल्याउने सोचेका थियौँ, अब मल हाल्नु पर्ने समय सकिसक्यो, आवश्यक पर्ने जति मल साल्ट ट्रेडिङ र कृषि सामग्रीबाट आइरहेको छ,’ केसीले चाणक्य पोष्टसँग भने ।
यस्तै कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले भने बंगलादेशबाट आउने मल ल्याउने बताए । उनले यस विषयमा मन्त्रालयसँग छलफल भइरहेको बताए । उनले ढिलो चाँडो सो मल आयात गरिने बताए । ‘बंगलादेशको मल ल्याउने नै हो, मन्त्रालयसँग छलफल भइरहेको छ, कहिले ल्याउने २/४ दिनमा निश्चित हुन्छ,’ पोखरेलले भने ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले किसानहरूले कहिले पनि मल आवश्यक समयमा नपाउने गरेको गुनासो गरे । उनले किसानलाई चाहिने मल साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीबाट मात्र आयात हुने हुँदा अब आउँदो समयमा मल आयातको ठेक्का कृषि सामग्री र साल्ट ट्रेडिङ बाहेकका अन्य निजी क्षेत्रहरूलाई टेन्डर गरि खरिद गर्न पाउने व्यवस्था हुनु पर्ने बताए ।
साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले मात्र मल आयात गर्न पाउने जस्तो एकाधिकार भएकाले यसलाई तोड्दै आउँदो समयमा जसले समयमा ल्याउन सक्छ उसैलाई मल ल्याउने ठेक्का दिनु पर्ने उनको भनाइ छ ।
‘साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले ल्याउँदै आएको मल कहिले समयमा आएको छैन, किसानले मल हाल्ने समयमा पाउँदैन्न, जहिले हाहाकार मात्र हुन्छ,’ बस्नेतले चाणक्य पोष्टसँग भने ‘अब उनीहरूलाई मात्र मल ल्याउने ठेक्का दिएर हुन्न, जसले भनेको समयमा मल ल्याउछ उसैलाई मल ल्याउने ठेक्का दिनु पर्छ ।’
यस्तै साल्ट ट्रेडिङ, कृषि सामग्रीबाट मल सहकारीले विभिन्न समस्या भोग्नु परेको छ । विक्रेताको माग अनुसार यूरीया मल किन्दा त्यो सँगै उनीहरूले दिने अन्य मल पनि किन्नु पर्ने बाध्यता रहेको बस्नेतले बताए ।
पछिल्लो समय धेरै सहकारीले सो समस्या भोग्नु परेको उनीसम्म गुनासो आएको हो । कतिपय सहकारीले यूरीया मल मात्र लिन जादा अन्य मल पनि थप नकिने यूरीया मल समेत किन्न नपाउने गरेको उनको भनाइ छ ।
साल्ट ट्रेडिङले ३० हजार टन मल ल्याउँदै
साल्ट ट्रेडिङ कर्पाेरेसनले ३० हजार यूरिया मल आयातको क्रममा छ । सो मल हाल कलकत्ता भन्सारमा अनलोड हुने क्रममा रहेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
उनले अबको १ हप्तामा सो मल काठमाडौं आइपुग्ने बताए । उनले हालसम्म साल्ट ट्रेडिङले ५० हजार मेट्रिकटन बढी मल आयात गरेको दाबी गरे ।
चालू आर्थिक वर्षमा साल्ट ट्रेडिङ मार्फ २१ हजार ५ सय मेट्रिकटन गत वर्षकै बाँकी रहेको यूरीया मल आयात भएको छ । त्यसपछि छुट्टै ३० हजार यूरीया मल आयात भइसकेको उनले बताए ।
‘हामीले अहिलेसम्म ५० हजार टन बढी मल ल्याइसकेका छौं, थप ३० हजार टन यूरीया मल ल्याउने क्रममा छौँ, कलकत्ता भन्सारमा त्यो अनलोड हुँदैछ,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘अब १ हप्ता जतिमा त्यो आयात भइसक्छ ।’
उनले हालसम्म पोटास मल ५ हजार टन र डीएपी मल २० हजार टन आयातको क्रममा रहेको जानकारी दिए । हाल १५/१६ हजार मेट्रिक टन यूरीया मल स्टकमा रहेको उनले बताए ।
चालू आवमा साल्ट ट्रेडिङका लागि मल किन्न २ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले मल आयातका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब रुपैयाँ विनियोजन गरको छ ।