काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) ल्याउने भएको छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
मंसिर ३ गते साधरण सभाबाट आइपीओ प्रस्तावपारित गरेको बैंकले निष्काशन प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्काशन गरिने बैंकले जनाएको छ ।
बैंकले यसअघि नै सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँ छ भने हाल चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ । आइपीओ पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।
पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाखले आवेदन दिँदै आएका छन् भने नयाँ आइपीओ पिच्छे आवेदकको संख्या पनि बढ्दै गएको छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था छ । सो अनुसार बैंकको आइपीओमा करिब १० लाखले आवेदन दिए भने पनि सबैलाई कम्तीमा ७० कित्ता सेयर पाउने सम्भावना देखिन्छ ।
कम्पनीको वित्तीय अवस्था
बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२।४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।
बैंकको व्यवसाय
धेरै पूँजी भएको यो ठूलो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । त्यसै अनुरुप बैंकले केही ठूला परियोजनाहरुमा लगानी गर्न शुरू गरिसकेको छ ।
बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ । यो परियोजनामा यस बैंकका अलावा हिमालयन बैंक र सानिमा बैंकले समेत संयुक्त रुपमा ४ अर्ब ६ करोड रुपैंयाँ लगानी गरेका हुन् ।
यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।