ठेकेदार नपाएपछि खाद्य कम्पनीले चिनी ल्याउनै सकेन, बजारमा अभाव भने नहुने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आयात गर्ने चिनी यो पटक नआउने भएको छ । सरकारले ५० प्रतिशत भन्सार छुटमा कम्पनीलाई १० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो । तर, कम्पनीले आयात गर्ने ठेकेदार नपाउँदा अहिलेसम्म चिनी आयात गर्न नसकेको हो ।

 

तिहारलाई लक्षित गरेर सो चिनी आयात गरिने भनिए पनि टेन्डर आह्वानका क्रममा कुनै प्रस्ताव नआएपछि रिटेन्डरको तयारी भएको थियो । चाडपर्व सकिएका कारण र नयाँ चिनी उत्पादन चाँडै शुरू हुने भएको भन्दै खाद्य कम्पनीले चिनी नल्याउने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।

 

मुख्य चाडपर्व सकिसकेको र नयाँ चिनी उत्पादन चाँडै शुरू हुने भएको भन्दै खाद्य कम्पनीले चिनी नल्याउने भएको कम्पनीले जनाएको छ ।

 

चिनी मुख्य चाडपर्वका लागि चाहिने भएकाले आयात गरिने गरेको तर, मुख्य चाडपर्व सकिएको र टेन्डर आह्वान गर्दा समेत कसैको आवेदन नआएकाले फेरि रिटेन्डर नगरिने निर्णय भएको उनले बताए ।

 

‘मुख्य तिहारकै लागि चिनी ल्याउने भनेका थियौं , पहिलो टेन्डरमा कसैको प्रस्ताव परेन, अब २/३ हप्ता पछि नयाँ चिनी उत्पादन हुन थाल्छ, त्यसैले आयात नगर्ने भएको हो,’ सुवेदीले चाणक्य पोष्टसँग भने ।

 

भदौ ७ गते शुरू भएको टेन्डर आह्वानको अन्तिम मिती असोज २९ गते रहेकोमा सो अवधिसम्म कसैले आवेदन दिएका थिएनन् । खाद्य व्यवस्था कम्पनीले चिनी आयात गर्न ४५ दिने टेन्डर आह्वान गरेको थियो ।

 

सरकारले विदेशबाट ३० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको हो । त्यस मध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार केजी चिनी आयात गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय भएको थियो । जुन पूरा हुन सकेन ।

 

चिनीको मूल्य नबढ्ने

 

चिनी उद्योगी शशिकान्त अग्रवालका अनुसार चिनीको मूल्य प्रतिकेजी ९० रुपैयाँभन्दा बढी हुने छैन । उनले भारतको चिनी मूल्य अनुसार नेपालमा मूल्य समायोजन गरिने बताए ।

 

उनले उखुको मूल्यमा १० रुपैयाँ प्रति क्वीन्टल बढाउन माग गरिएको बताए । अबको २ हप्तामा नयाँ चिनी उत्पादन शुरू हुने छ । साल्ट ट्रेडिङ करपोरेसन कम्पनीले २० हजार टन चिनी आयात गरेको छ ।

 

नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसरी दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ । चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् ।

 

उखु उत्पादन १५ प्रतिशतले घट्ने

 

चालू आर्थिक वर्षमा उखु उत्पादन १० देखि १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिल मुनी मैनालीका अनुसार चालू आर्थिक वर्षमा विगतको तुलनामा १० देखि १५ प्रतिशत उखु उत्पादन घट्ने अनुमान गरिएको छ ।

किसानहरूले बारम्बार उखुको भुक्तानी नपाउने, चिनी उद्योग बन्द हुने जस्ता कारणले उखु उत्पादन वर्षेनी घट्दै गएको उनले बताए । उनले चालू आव भित्र मात्र ४ वटा चिनी उद्योग बन्द भएको बताए । सरकारले किसानको हित विपरीत चिनी उद्योगीसँग मिलेर उखुको खरिद मूल्य तोक्ने भएकाले किसानको आकर्षण घट्दै गएको बताए ।

 

चालू आर्थिक वर्षमा सर्लाहीमा धेरै किसानहरूले उखुको सट्टामा रोपिने खेतीका लागि आवेदन दिएको उनले जानकारी दिए । ‘उखु खेतीमा किसानलाई घाटा मात्र छ, जति गरेपनि भुक्तानीमा समस्या छ, सरकारले किसानको कुरा नसुनि उद्योगीको कुरा सुनेर उखुको खरिद मूल्य तोक्छ,’ उनले चाणक्य पोष्टसँग भने ‘धेरै किसानहरू अब यस क्षेत्रबाट हटेर अन्य खेती तिर लाग्ने तयारीमा छन्, उखुको लागि न मल समयमा आउछ, न बीउ, यसरी कसले उखु रोप्छ ?’

 

२०७०/७१ मा नेपालमा २ देखि ३ करोड हाराहारीमा उखु उत्पादन भएको थियो । गत वर्ष २०७६÷७७ मा उखुको उत्पादन घटेर १ करोड ३२ लाख पुगेको उनले बताए ।

 

कृषि विकास मन्त्रालयले यो पटक उखुको मूल्य प्रतिक्वीन्टल ५४४ पुर्याउन वाणिज्य मन्त्रालयमा सिफारिस गरेको छ । सो विषयमा उद्योगीर वाणिज्य मन्त्रालयको छलफल पछि कति मूल्यमा उखु किन्ने निश्चित हुने छ । उखुको मूल्य विगतमा ५ सय ३८ रुपैयाँ प्रति क्वीन्टल रहेको थियो । उद्योग तथा वाणिज्य मन्त्रालयले तोके अनुसार मूल्य निर्धारण हुने छ ।

 

 

कालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ Read Previous

कालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ

हालसम्मकै ठूलो आइपीओ ल्याउन लागेको कम्पनीको यस्तो छ वित्तीय अवस्था, सबैले ७० कित्ता पाउने सम्भावना Read Next

हालसम्मकै ठूलो आइपीओ ल्याउन लागेको कम्पनीको यस्तो छ वित्तीय अवस्था, सबैले ७० कित्ता पाउने सम्भावना