काठमाडौं । एनआइसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।
डिजिटल बैंकिङको प्रवद्र्धनका साथै ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा शुरु गरेको हो ।
बैंकका ग्राहकले NIC ASIA MoBank एपमा रहेको Fixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् ।
बैंकमा ग्राहकले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।
‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहक ले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् ।
बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा एपमार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन् ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने को संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक लाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो योजनाले सहयोग पुर्याउने बैंकले लक्ष्य लिएको छ ।
बैंकले हाल देशभरका ३३० शाखा कार्यालयहरू, ४७० एटीएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।