मध्यपहाडी राजमार्ग निर्माण कछुवाको गतिमा, डेढ दशकमा आधा मात्र काम पूरा

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण शुरु भएको झण्डै डेढ दशक बिते पनि आयोजनाको कामले पनि गति लिन सकेको छैन ।

 

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण शुरु गरिएको आयोजनाको काम १३ वर्ष बित्दा समेत आधा मात्र पूरा भएको छ । आयोजनाको काम शुरू भएको दशकौं वर्षसम्म पनि समयमै पूरा नहुने रोगबाट यो पनि ग्रसित भएको छ ।

 

काम शुरू भएको डेढ दशक बिते पनि बजेट अभाव, कामदार अभाव, ठेकेदार कम्पनीहरुको लापारबाही, सरकारको फितलो अनुगमन र कारबाही लगायत कारणले राजमार्ग निर्माणले गति लिन नसकेको हो ।

 

आयोजना निर्माण सम्पन्न गर्ने समय अब ३ वर्षमात्र बाँकी रहे पनि काम भने बल्ल आधा मात्र पूरा भएको छ । कुल १ हजार ८७९ किलोमिटर लामो यस आयोजना हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ।

 

कुल १ हजार ८७९ किलोमिटर लम्बाई मध्ये हालसम्म ९२० किलोमिटर कालोपत्र भएको छ । जसमा ४५५ किलोमिटर सडक आयोजना आफैले कालोपत्र गरेको हो भने ४६५ किलोमिटर सडक अन्य निकायले कालोपत्र गरेको सडक विभागले जनाएको छ ।

 

यस्तै आयोजना अन्तर्गत रहेका १२९ पुल मध्ये हालसम्म ८५ वटा हाराहारीमा पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

 

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा आयोजना अन्तर्गत १४ किलोमिटर सडक कालोपत्र भएको छ ।

 

हालसम्म ४६ अर्ब खर्च

 

सडक निर्माणका लागि १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वित्तीयतर्फ हालसम्म ४७ प्रतिशत (करिब ४६ अर्ब १४ करोड रुपैयाँ) खर्च भइसकेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा सो लोकमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले ३ अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो । सो मध्ये कुल २ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च भएको थियो ।

 

गत आवमा ३५ किलोमिटर सडक ग्राबेल गरी १२ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ग्राबेल लक्ष्यभन्दा बढी हुन गए पनि सो खण्डमा गत आवमा २ वटा मात्र पुल निर्माण सम्पन्न भएको थियो ।

 

गत वर्ष कोभिड १९ का कारण सडक निर्माणको भौतिक प्रगति लक्ष्य अनुरुप हुन नसकेको आयोजनालले बताएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता, ५० अर्ब उठाउँदै राष्ट्र बैंक Read Previous

बैंकिङ प्रणालीमा अधिक तरलता, ५० अर्ब उठाउँदै राष्ट्र बैंक

वोमी लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति Read Next

वोमी लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति