काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउने भएको छ ।
राष्ट्र बैंकले निक्षेप बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्ने भएको हो । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ ।बैंकिङ प्रणालीमा अहिले करिब पौने २ खर्ब रुपैयाँ तरलता कायम रहेको बताइएको छ ।
बैंकले सार्वजनिक गरेको सूचना अनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।
केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।