काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुल्न साथ करिब ३२ अंकले घटेको बजार केही बेरमै फेरि २० अंकले बढेको थियो ।
दिनभर तीव्र उतरचढाव देखिएको बजार अन्त्यमा ३ अंकले बढेर बन्द भएको छ । यससँगै नेप्सेले २००० विन्दु पार गरेको छ ।
प्रफिट बुक गर्ने र बढ्दो बजारमा सेयरको भाउ घटाएर किन्ने हाबी हुँदा तीव्र उतर चढाव देखिएको लगानीकर्ता बताउँछन् । बजार सूचक निरन्तर करिब ३०० अंक बढ्दा पनि करेक्शन नआएकाले बजारमा तीव्र उतरचढाव देखिएको उनीहरुको भनाइ छ ।
सूचक सामान्य अंकले बढे पनि कारोबार रकम पनि उत्साहजन नै रहेको छ । आज पनि करिब साढे ७ अर्बको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३.३५ अंकले बढेर २०००.४० विन्दुमा पुगेको छ । यसदिन १९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर ७ अर्ब ४० करोड ४१लाख ५४ हजार ६ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै २१६.८३ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १०७.६४ अंकले घटेको छ ।
आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ६५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहे ।
आज कारोबार भएका कुल १९७ कम्पनी मध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
यसअघि बैंकिङ क्षेत्रको सेयरमा झुम्मिएका लगानीकर्ता आज जीवन बीमा कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा डाइभर्ट भएका छन् ।
आज ५ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल पुनर्बीमा कम्पनी, रसुवागढी, अपर तामाकोशी, साञ्जेन हाइड्रोपावर र नेपाल टेलिकमका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.७३ प्रतिशत गुमाएका छन् ।